वाणिज्य विभागद्वारा १५ व्यावसायिक फर्ममा छापा
२० माघ २०८२, मंगलवार ११:१२

काठमाडौं। नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा रहेको एक स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले गरेको अनुगमनका क्रममा कैफियत फेला परेपछि थिमिमा सञ्चालनमा रहेको रमेश थापा स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, अनुगमनका क्रममा गणपति जी ट्रेडर्सले व्यवसायसँग सम्बन्धित आवश्यक कागजात पेश नगरेको पाइएपछि सो फर्मलाई कागजातसहित एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले सोही क्रममा थप १४ वटा फर्मलाई आवश्यक सुधार गर्न सुधारात्मक निर्देशन दिएको जनाएको छ।












