नेपालमै एसेम्बल गरिएको १४ सिटर ईभी काठमाडौंको सडकमा आउँदै

काठमाडौं । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर क्षमताको चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंका सडकमा उक्त ईभीको परीक्षण सञ्चालन गर्ने योजना बनाएको छ ।
कम्पनीका अध्यक्ष भेष थापाका अनुसार नेपालमै ११ र १४ सिट क्षमताका विद्युतीय सवारी साधन एसेम्बल गर्ने दीर्घकालीन लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो । उनले कम्पनीले यसअघि २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको स्मरण गराउँदै विद्युतीय सवारीको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
ईभी प्रवर्द्धनकै क्रममा कम्पनीले नेपालमै पहिलोपटक ‘सुन्दर चार्जिङ स्टेशन’ स्थापना गरी सञ्चालनमा ल्याएको थियो । त्यसै अनुभवका आधारमा तीन पाङ्ग्रे सवारी साधनलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमण गरेपछि परियोजना अघि बढाइएको उनको भनाइ छ । हाल एसेम्बल भइरहेको सवारीमा ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालमै उत्पादन गरिएको बडी प्रयोग गरिएको छ भने बाँकी आवश्यक सामग्री भारत र चीनबाट आयात गरिएको उनले बताए ।
अध्यक्ष थापाका अनुसार सवारी निर्माण अन्तिम चरणमा पुगेको छ । अब काठमाडौंको सडकमा परीक्षण सम्पन्न गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रियाका लागि लैजाने तयारी भइरहेको छ ।












