सूर्यज्योति लाइफको नाफा सामान्य बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानीसँगै नाफा बढेको हो।
गत आर्थिक वर्षको दोस्रौ त्रैमास अर्थात साउनदेखि पुस मसान्तसम्म १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २.९२ प्रतिशतको सामान्य वृद्धि सहित २० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ९८ करोड १६ लाख रुपैयाँबाट १४.६३ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै कम्पनीको कुल आम्दानी ७ अर्ब रुपैयाँबाट बढेर ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ६ अर्ब ६४ करोड ९ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ नाघेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई दिएको कमिसन बापतको रकम पनि ४४ करोड १८ लाख रुपैयाँबाट बढेर ४९ करोड १६ लाख रुपैयाँ नाघेको छ भने जीवन बीमाकोषको आकार पनि ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँबाट बढेर ४६ अर्ब १७ करोड १० लाख रुपैयाँभन्दा माथि पुगेको छ।
त्यस्तै समीक्षा अवधिमै कम्पनीको प्रतिशेयर आम्दानी ७.८३ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ। चालू आर्थिक वर्षको ६ महीनासम्म कम्पनीले बीमा पोलिसी रिन्यू गरी ४ अर्ब २२ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ।
चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा ४५ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन रेशियो १.६५ प्रतिशत रहेको छ।












