सर्वसाधारणलाई खुला गरिएको सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ।
कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये आयोजना प्रभावितलाई ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६८ लाख ९७६ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी आईपीओमध्ये १३ हजार ७९३ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको हो। यसमा कम्तीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनर इस्यूअर’ रेटिङ्ग दिएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोमिख रहेको संकेत गर्छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।












