गार्डियन माइक्रो लाइफको नाफा १३ करोड २५ लाख, समग्र वित्तीय अवस्था कस्तो?

२१ माघ २०८२, बुधबार ११:३४

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक (२०८२ पुस मसान्त) सम्मको वित्तीय विवरण अनुसार आम्दानी सहित नाफामा वृद्धि भएको छ।

दोस्रो त्रैमासिकको अन्त्यसम्ममा कम्पनीले १३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिसम्म कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको व्यवसाय विस्तारमा पनि उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २३ करोड ५३ लाख रुपैयाँ पुगेको छ जुन गत वर्षको यसै अवधिमा ११ करोड ८७ लाख रुपैयाँ मात्रै थियो।

कम्पनीले पुस मसान्तसम्म कुल ३० करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको पुस मसान्तसम्म १५ करोड ३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि २८ करोड ८८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष १३ करोड ८७ लाख रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै कम्पनीले व्यवसाय विस्तारका लागि आफ्ना अभिकर्ताहरूलाई दिने कमिशनमा पनि वृद्धि गरेको छ। यस्तो कमिशन १ करोड २८ लाख रुपैयाँबाट वृद्धि भएर २ करोड ४ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म कम्पनीले लगानी र कर्जाबाट ३ करोड ६३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३.५३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४.२३ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३९ लाख रुपैयाँ र जगेडा कोषमा २ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको कुल सम्पत्ति १ अर्ब २३ करोड ३३ लाख रुपैयाँ रहेको छ।

गत आवको पुस मसान्तसम्म कम्पनीको जीवन बीमाकोषको आकार ८ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ३९ करोड १० लाख रुपैयाँ कायम भएको छ। कम्पनीको सोल्भेन्सी अनुपात २.०६ प्रतिशत रहको छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको १.५० प्रतिशतभन्दा धेरै हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*