‘डोटीकै कान्छो उम्मेद्वार बनेका युवा नेता प्रकाश कठायत, बटुल्दै जनताको साथ र भरोसा’

‘राजनीतिक यात्रा र योगदानको पृष्ठभूमि’
राजन कठायत
२१ माघ २०८२, बुधबार १७:३९

काठमाडौं । देश यतिबेला प्रतिनिधि सभाको निर्वाचनको तयारीमा प्रवेश गरिसकेको छ । फागुन २१ गतेका लागि तोकिएको चुनावलाई लिएर राजनीतिक दलहरू घरदैलो अभियानमा सक्रिय बन्दै गएका छन् । यसपटकको चुनाव सामान्यभन्दा फरक देखिन थालेको छ । लामो समयदेखि उही अनुहार, उही भाषण र उही आश्वासनबाट दिक्क भएका मतदाताहरू नयाँ अनुहार, नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको खोजीमा देखिएका छन् । यही परिवेशमा डोटी जिल्लाबाट २९ वर्षीय युवा उम्मेद्वार प्रकाश कठायतको चर्चा तीव्र बन्दै गएको छ ।

पछिल्लो समय ‘जेन–जी आन्दोलन’ ले नेपाली राजनीतिमा नयाँ बहस र ऊर्जा थपेको छ । युवाहरूको सक्रियता, प्रश्न गर्ने प्रवृत्ति र पुरानो राजनीतिक अभ्यासप्रति देखिएको असन्तुष्टि अब चुनावी मैदानसम्म आइपुगेको छ । यही राजनीतिक चेतनाको लहरमा डोटी जिल्लाबाट नेकपा (माओवादी) को तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेद्वार बनेका कठायतलाई मतदाताहरूले फरक दृष्टिले हेर्न थालेका छन् ।

कठायत डोटी जिल्लाको के.आई. सिंह गाउँपालिका–५ मा जन्मिएका हुन् । सानैदेखि व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिने स्वभावका कारण उनी विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए । डोटी जस्तो भौगोलिक रूपमा विकट र विकासका दृष्टिले पछाडि पारिएको जिल्लामा शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सुशासनका सवालमा आवाज उठाउनु सजिलो थिएन । तर कठायतले यही चुनौतीलाई आफ्नो राजनीतिक यात्राको आधार बनाए ।

विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका कठायत शिक्षा क्षेत्रको गुणस्तर सुधार, समान पहुँच र जवाफदेही व्यवस्थाका पक्षमा निरन्तर बोल्दै आएका छन् । उनले शिक्षा क्षेत्रमा देखिएका बेथिति, राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीबारे खुला रूपमा प्रश्न उठाएका कारण स्थानीय स्तरमा परिचित नाम बन्न सफल भए । विद्यार्थी आन्दोलनमार्फत सुरू भएको उनको राजनीतिक चेतना विस्तारै सामाजिक र भौगोलिक राजनीतितर्फ उन्मुख भयो ।

डोटी जिल्लामा लामो समयदेखि जरा गाडेर बसेका भ्रष्टाचार, नातावाद, कृपावाद र जातीय विभेदका विरुद्ध कठायतले निरन्तर खबरदारी गर्दै आएका छन् । उनले स्थानीय सरकार, सरकारी कार्यालय र जनप्रतिनिधिहरूको कामकारबाहीप्रति सार्वजनिक रूपमा प्रश्न उठाउँदै जवाफदेही बनाउन भूमिका खेलेका थिए । विशेषगरी सार्वजनिक स्रोत र साधनको दुरुपयोगका विषयमा उनी मुखर देखिए ।

स्थानीय तहका प्रमुख र सरकारी कर्मचारीहरूले सार्वजनिक बिदामा समेत सरकारी सवारी साधन दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध कठायतले आवाज उठाउँदा त्यसले ठोस प्रभाव पारेको स्थानीयहरू बताउँछन् । उनको पहलपछि कतिपय स्थानीय तहहरूले सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको उदाहरण पनि डोटीमा देखिएको छ । यसले कठायतलाई केवल भाषण गर्ने होइन परिणाम खोज्ने राजनीतिक व्यक्तित्वको रूपमा चिनाएको छ ।

संघीयतापछि सुदूरपश्चिम प्रदेशको राजधानी डोटीबाट खोसिएको विषय डोटीवासीका लागि गहिरो पीडाको विषय बनेको छ । यही पीडालाई प्रतिनिधित्व गर्दै कठायतले राजधानी खोसिएको विषयमा निरन्तर आवाज बुलन्द बनाउँदै आएका थिए । साथै, देशघाती भन्दै आलोचना गरिएको एमसीसी सम्झौताविरुद्ध पनि उनी सडकदेखि सभा–समितिसम्म खुलेर बोल्दै आएका थिए । यी विषयमा उनको स्पष्ट अडानले युवाहरू मात्र होइन, पुराना पुस्ताका नागरिकहरूलाई समेत आकर्षित गरेको देखिन्छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (माओवादी) ले डोटी जिल्लाबाट प्रत्यक्षतर्फ कठायतलाई सर्वसम्मत रूपमा उम्मेद्वार बनाएको हो । पार्टीभित्र लामो छलफलपछि युवा, स्वच्छ छवि र जिल्लामा सक्रियताका आधारमा कठायतको नाम अघि सारिएको बताइन्छ । पार्टीका नेताहरूले समेत कठायतलाई भविष्यको सम्भावनायुक्त नेता भन्दै सार्वजनिक रूपमा समर्थन जनाउँदै आएका छन् ।

कठायत आफैंले पनि मतदातालाई भावनात्मक भन्दा विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् । उनले भोट हाल्नु अघि सयौं पटक सोचेर मताधिकार प्रयोग गर्नुपर्ने बताउँदै आएका छन् । ‘म विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिदेखि डोटी जिल्लाको विकासका सवालमा सक्रिय छु,’ उनले भनेका छन्, ‘डोटीको शिक्षा, स्वास्थ्य र सामाजिक महत्वका विषयमा भएका अराजकता विरुद्ध निरन्तर आवाज उठाउँदै आएको छु ।’

उनका अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जिल्लाको हितका लागि काम गर्नु नै उनको राजनीतिक लक्ष्य हो । डोटीले गुमाएका अधिकार फिर्ता ल्याउने, शिक्षा प्रणालीलाई समयसापेक्ष र व्यवहारिक बनाउने तथा युवालाई रोजगारी र अवसरसँग जोड्ने विषयमा संसदमा बलियो आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

डोटी जिल्लाको चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरूमध्ये कठायतलाई स्वच्छ छवि भएका र क्षमतावान युवा उम्मेद्वारको रूपमा हेरिएको छ । उनीमाथि अहिलेसम्म कुनै पनि आर्थिक अनियमितता वा नैतिक प्रश्न नउठेको स्थानीयहरू बताउँछन् । यही कारण गाउँ समाजमा उनको स्वीकार्यता बढ्दो क्रममा रहेको देखिन्छ ।

हाल डोटीका विभिन्न गाउँ–बस्तीमा कठायतको पक्षमा माहोल बनिरहेको छ । गाउँका बुद्धिजीवी, समाजसेवी, धामी–भराणी, युवा समूह र सामाजिक अभियन्ताहरूले उनलाई खुलेर साथ दिइरहेका छन् । ‘सडकदेखि संसदसम्मको यात्रा’ मा कठायतलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् । स्थानीय समाजका अगुवाहरूका अनुसार लामो समयपछि डोटीले आफ्नै पीडा बुझेको र आवाज उठाउन सक्ने उम्मेद्वार पाएको अनुभूति भएको छ ।

नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रवेशको बहस अहिले तीव्र बनेको छ । परम्परागत नेताहरूको वर्चस्व, दोहोरिँदै आएका अनुहार र दशकौंसम्म सत्तामा बसेका नेताप्रति जनअसन्तुष्टि बढिरहेका बेला युवाहरू वैकल्पिक नेतृत्वको खोजीमा छन् । जेन–जी आन्दोलनपछि विशेषगरी युवामा राजनीतिक चेतना र सहभागिता बढेको देखिन्छ । यही परिवेशमा कठायत जस्ता युवाको चुनावी मैदानमा उपस्थिति समयसापेक्ष र अर्थपूर्ण मानिएको छ ।

डोटी जस्तो जिल्लामा युवाको उम्मेद्वारी केवल पुस्तान्तरण मात्र होइन राजनीतिक संस्कृतिको परिवर्तनको संकेत पनि हो । यदि यस्ता युवाहरू संसदसम्म पुग्न सफल भए भने नीति निर्माण तहमा स्थानीय समस्या, शिक्षा र रोजगारी जस्ता विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

डोटी जिल्लाका मतदाताहरू यसपटक भावनाभन्दा पनि विवेक प्रयोग गर्ने मनस्थितिमा देखिन्छन् । पुराना नेताहरूले गरेका अधुरा वाचा र विकासका असमान वितरणले जनतामा निराशा बढाएको छ । यही निराशाबीच कठायतले प्रस्तुत गरेको राजनीतिक दृष्टिकोण, विगतको सक्रियता र स्वच्छ छविले उनलाई मतदाताको रोजाइमा पारिरहेको छ ।

चुनावी अभियानका क्रममा कठायतले ठूला भाषणभन्दा पनि सिधा संवादलाई प्राथमिकता दिएका छन् । उनी घरदैलोमा पुगेर जनताको समस्या सुन्ने, युवासँग रोजगारी र शिक्षा विषयमा छलफल गर्ने र वृद्धहरूसँग स्वास्थ्य तथा सामाजिक सुरक्षाका सवालमा संवाद गर्ने शैलीमा देखिएका छन् । यसले उनलाई ‘नेता’ भन्दा पनि ‘आफ्नै मान्छे’ को रूपमा चिनाउन मद्दत गरेको छ ।

फागुन २१ को निर्वाचनले डोटी मात्र होइन सिंगो नेपाली राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने प्रश्न अहिले सबैको चासोको विषय बनेको छ । नयाँ अनुहारप्रति देखिएको आकर्षण र परिवर्तनको चाहनाले परिणाम कस्तो आउँछ भन्ने हेर्न बाँकी छ । तर डोटी जिल्लाबाट प्रकाश कठायतको उम्मेद्वारीले भने राजनीतिक बहसलाई नयाँ मोड दिएको स्पष्ट देखिन्छ ।

यो चुनाव केवल जित–हारको प्रश्न होइन भविष्यको दिशाको निर्णय हो । यही कारण कठायतप्रति देखिएको जनसमर्थन केवल व्यक्तिगत लोकप्रियता नभई परिवर्तनको चाहनाको अभिव्यक्ति हो । अब अन्तिम निर्णय मतपेटिकामा बन्द हुनेछ । तर चुनावी मैदानमा डोटीकै कान्छो उम्मेद्वार प्रकाश कठायतले बटुल्दै गएको जनताको साथले राजनीतिक वृत्तमा विशेष ध्यान तानेको छ ।

डोटी जिल्लाका उम्मेद्वार प्रकाश कठायतसँग गरिएको कुराकानीमा आधारित :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*