सीवाईसी नेपाल लघुवित्तको नाफामा गिरावट, खराब कर्जा १८.४८ प्रतिशत

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनासम्म नाफामा गिरावट आएको हो।
गत आवको ६ महीना अर्थात पुस मसान्तसम्म कम्पनीले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको ६ महीनासम्म १३.६१ प्रतिशतको गिरावट सहित खुद नाफा ३ करोड ७२ लाख रुपैयाँमा झरेको छ।
यद्यपि कम्पनीको आम्दानीमा भने वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। गत आवको पुस मसान्तसम्म १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म १६.५४ प्रतिशतले बढेर २० करोड २८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि १९ करोड ८७ लाख रुपैयाँबाट १९.७६ प्रतिशतको वृद्धि सहित २३ करोड ८० लाख रुपैयाँ पुगेको छ। तथापि कम्पनीको सञ्चालन नाफा भने ५ करोड ९३ लाख रुपैयाँबाट १९.१० प्रतिशतको गिरावट सहित ४ करोड ८० लाख रुपैयाँमा झर्न पुगेको छ।
यता कम्पनीको खराब कर्जा भने चुलिएको तथ्यांकले देखाएको छ। गत आवको पुस मसान्तसम्म खराब कर्जा ४.३५ प्रतिशत रहेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ह्वात्तै बढेर १८.४८ प्रतिशत कायम भएको छ जुन निकै उच्च हो। यता कम्पनीको प्रतिशेयर आम्दानी भने ३२.४० रुपैयाँबाट घटी २७.९९ रुपैयाँमा झर्दा प्रतिशेयर नेटवर्थ २६८.७२ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहको कम्पनीको जगेडामा १६ करोड ८६ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ८ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ७ अर्ब २७ करोड २५ लाख रुपैयाँभन्दा माथि पुगेको छ।












