अत्याधुनिक सुविधासहित रोयल इनफिल्ड-३५० लन्च, मूल्य कति ?

काठमाडौँ । रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोटरसाइकल हन्टर–३५० पोखरामा लन्च गरेको छ । कम्पनीले काठमाडौंपछि पोखरास्थित सोरुममार्फत उक्त मोडेलको टेस्ट राइड र बुकिङसमेत खुला गरेको हो ।
विश्वका सहरी जीवनशैलीबाट प्रेरित आकर्षक रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस–भिआई हन्टर–३५० पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । दैनिक सवारीदेखि फुर्सदका यात्रासम्मलाई लक्षित गरी डिजाइन गरिएको यो मोडेल युवामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
हन्टर–३५० मा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबिएस, सुधारिएको सिट तथा ट्रिप नेभिगेटर जस्ता सुविधाहरू समावेश छन् । यसमा जडान गरिएको ३४९ सिसी जे–सिरिज इन्जिनले चुस्त प्रदर्शन र आरामदायी राइडिङ अनुभव दिने बताइएको छ ।
कम्पनीका निर्देशक मेघराज पौडेलले पर्यटन र एड्भेन्चरले भरिएको पोखराजस्तो सहरका लागि हन्टर–३५० अत्यन्त उपयुक्त मोडेल भएको बताए । उनका अनुसार यो मोटरसाइकलले शहर र पहाड दुवै प्रकारका सडकमा सन्तुलित प्रदर्शन दिनेछ ।
मूल्यतर्फ, डुअल टोन भेरियन्टको मूल्य रु. ४ लाख ९९ हजार ९०० र सिंगल टोन भेरियन्टको मूल्य रु. ४ लाख ९४ हजार ९०० तोकिएको कम्पनीले जनाएको छ ।












