उपभोक्ताको रोजाईमा पर्दै घोराही सिमेन्ट, वर्षदिनमा ५ अर्ब १३ करोडको व्यापार

काठमाडौँ । त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानीमा सञ्चालित घोराही सिमेन्टले वर्षदिनमा ५ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ व्यापार गर्ने सफल भएको हो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा १४.५४ प्रतिशत अर्थात् ६५ करोड २० लाख रुपैयाँले बढी हो । सो वर्ष कम्पनीले ४ अर्ब ४८ करोड ४० लाख रुपैयाँ रहेको थियो । कम्पनी सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख र सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा भने कम्पनीको व्यापार ९१ करोड २० लाख रुपैयाँ रहेको छ ।
नेपाली बजारमा घोराही सिमेन्टका ब्रान्डहरू हाल सर्वाधिक लोकप्रिय बनेका छन् । कम्पनीले उत्पादन गर्ने सिमेन्टको गुणस्तर विश्वसनीय रहेकोले उपभोक्ताहरूले विश्वासका साथ यो सिमेन्ट रोजिरहेका छन् । अन्य सिमेन्ट कम्पनीहरू ऋणको भारमा दबिएका अवस्थामा पनि घोराही सिमेन्टले आफ्नो व्यापार विस्तारमा सफलता पाएको देखिन्छ ।
घोराही सिमेन्टले उत्पादन र बिक्रीका लागि आधारभूत कच्चा पदार्थको सुनिश्चितता पनि कायम गरेको छ । कम्पनीले तीनवटा प्रमुख चुना ढुंगे खानीहरूको लागि विशेष सम्झौता सुरक्षित गरेको छ, जुन क्लिन्कर कारखानाबाट करिब ३० देखि ६५ किलोमिटरको दूरीमा अवस्थित छन् । यी खानीहरूबाट खनिएको चुना ढुंगे सडकमार्फत कारखानामा ढुवानी गरिन्छ । कम्पनीसँग यी खानिहरूबाट वार्षिक करिब २.११ मिलियन मेट्रिक टन चुना ढुंगे निकाल्ने क्षमता छ भने कुल भण्डार करिब २६.६४ मिलियन मेट्रिक टन रहेको अनुमान गरिएको छ । यी भण्डारहरूले दीर्घकालीन रूपमा क्लिन्कर र सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थको उपलब्धता सुनिश्चित गरेको छ ।
कम्पनीको अध्यक्ष आदित्य साँघाई छन् । कम्पनीको सिमेन्ट उत्पादन कारखाना पश्चिम नेपालको दाङ उपत्यकामा अवस्थित छ । हाल कम्पनीले क्लिन्कर, साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी.) र पोजोलाना पोर्टल्याण्ड सिमेन्ट (पी.पी.सी.) उत्पादन गर्दै आइरहेको छ। कम्पनीका प्रमुख शेयरधनी बिरेन्द्र कुमार साँघाई र गोविन्द लाल साँघाई हुन्, जसले प्रत्येक करिब १० प्रतिशत शेयर होल्ड गरेका छन् ।
घोराही सिमेन्टको बजार रणनीति पनि व्यवस्थित रहेको छ । कम्पनीले गुणस्तर कायम राख्न आधुनिक प्रविधि र निर्माण प्रक्रियामा लगानी गर्दै आएको छ । उत्पादन र वितरण प्रणालीलाई दिगो बनाउने क्रममा कम्पनीले उत्पादन क्षमता विस्तारमा ध्यान दिएको छ। यसले गर्दा स्थानिय बजारमा आफ्नो पकड बनाउनुका साथै भारत निर्यात समेत जोड दिदै आइरहेको हो ।
इन्फोमेरिक्स क्रेडिट मूल्याङ्कन नेपालले घोराही सिमेन्ट उद्योग लिमिटेडको ऋणशक्ति घटाएर दोब्बल बी मा राखेको छ । कम्पनीको दीर्घकालीन बैंक सुविधा ७ अर्ब २८ करोड ८३ लाख रुपैयाँ र छोटो अवधिको बैंक सुविधा ३ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ राखिएको छ ।












