पुँजी बजारमा रौनकः कारोबार साढे ११ अर्ब, यस्ता छन् हरियालीका आधार!

२२ माघ २०८२, बिहीबार १५:०७

काठमाडौँ । शेयर बजारमा आज हरियाली देखिएको छ । दुई दिन लगातार घट्दो ट्रेन्डपछि बजार बढेको हो । लगानीकर्ताले नाफा बुक गरेपछि पुनः बजारमा सहभागिता जनाउन थालेको विश्लेषकहरूले बताएका छन् । देशमा प्रतिनिधिसभा निर्वाचन हुने अन्योलले केही समयदेखि लगानीकर्ताको मनोबल कमजोर भएको थियो, तर सर्वोच्च अदालतले संसद पुनःस्थापनाको रिट फागुन २१ गते तोकेको खबरपछि बजारमा सकारात्मक माहोल बनेको छ ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पूँजी बजारमा अल्पकालीन उत्साह देखिन थालेको थियो। तर, सुधार देखिएसँगै लगानीकर्ताले नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजार दीर्घकालीन रूपमा स्थिर हुन सकेको छैन । भविष्यको सरकार र अर्थनीतिका बारे स्पष्टता नहुँदा लगानीकर्तामा अनिश्चितता कायम रहँदा अल्पकालीन उतार–चढाव बढेको विश्लेषकहरूको मत छ ।

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएको र पूँजी बजारप्रति सरकार र नियामक निकायले उदार नीति अपनाउने संकेत देखिन थालेको कारण निकट भविष्यमा बजार स्थायित्व हासिल गर्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूले लगानीकर्ताले संयमित रणनीति अपनाएमा बजारमा क्रमिक सुधार सम्भव छ र दीर्घकालीन रूपमा शेयर बजार आकर्षक बन्न सक्नेछन्।

यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कतिपय संस्थाको वित्तीय अवस्था अपेक्षाकृत कमजोर देखिनु, नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरका सूचक कमजोर देखिनुले लगानीकर्तामा सतर्कता बढाएको छ। यसले बजारमा अस्थिरता सिर्जना गरेको र छोटो अवधिमा लगानीकर्ताको विश्वास कमजोर भएको विश्लेषकहरूले जनाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१९ अकंले बढेर २७०८.७० बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहिबार २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । ४ कम्पनी शेयर मूल्य स्थिर रहेको हो ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*