३४ औँ वार्षिकोत्सव विशेषाङ्क प्रकाशनका लागि धितोपत्र बोर्डद्वारा लेख रचना माग

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा ‘नेपाल धितोपत्र बोर्ड ३४ औँ वार्षिकोत्सव लेख विशेषाङ्क–२०८३’ प्रकाशन गर्ने भएको छ। बोर्ड नीति, अनुसन्धान तथा प्रशिक्षण विभाग, खुमलटार, ललितपुरले जारी गरेको सूचनाअनुसार बोर्ड २०८३ जेठ २५ गतेदेखि ३४ औँ वर्षमा प्रवेश गर्ने अवसरमा उक्त विशेषाङ्क प्रकाशन गर्न लागिएको हो।
नेपाल धितोपत्र बोर्डले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख–रचना समावेश गरी लेख विशेषाङ्क नियमित रूपमा प्रकाशन गर्दै आएको छ। सोही परम्पराअनुसार यस वर्ष पनि उल्लेखित विषयसँग सम्बन्धित मौलिक लेख–रचना आम सरोकारवालाबाट माग गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार लेख–रचना नेपाली वा अंग्रेजी भाषामा हुनुपर्नेछ र कम्तीमा २५०० शब्दको हुनुपर्नेछ। इच्छुक लेखकहरूले आफ्नो तथ्यपरक तथा विश्लेषणात्मक मौलिक लेख २०८३ बैशाख १५ गतेभित्र बोर्डको इमेल [email protected] मा पठाउनुपर्नेछ।
पठाइने लेख–रचना बौद्धिक कृत्रिमता (AI) को प्रयोग नगरी तयार गरिएको हुनुपर्ने, यसअघि अन्यत्र प्रकाशन नभएको तथा प्रकाशनका लागि अन्यत्र नपठाइएको हुनुपर्ने बोर्डले स्पष्ट पारेको छ।













