स्वास्थ्य बीमामा स्रोत सुनिश्चितता नगरी खर्च गर्दा २४ अर्ब रुपैयाँको दायित्व सिर्जना: मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी र अर्थ मन्त्रालयको सहमतिविना खर्च गर्दा राज्यमा ठूलो आर्थिक भार परेको बताएकी छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै मन्त्री गौतमले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्। उनले बीमा बोर्डको अनियन्त्रित खर्चका कारण हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
मन्त्री गौतमले भने, “बीमाको पैसा मन्त्रालयले दिएको छैन भनेर समस्या देखाउनुभयो। तर मैले थाहा पाएँ, चालु आर्थिक वर्षका लागि नेपाल सरकारले १० अर्ब रुपैयाँ छुट्याएको रहेछ। कार्यक्रम सञ्चालन वार्षिक बजेटको परिधिभित्र हुनुपर्छ। बजेटभन्दा बाहिर जानुपरेको खण्डमा मात्र अर्थ मन्त्रालयको सहमति लिनुपर्छ। तर बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा दायित्व यति बढेको छ कि अहिले वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व बनेको छ।”
उनले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको पनि उल्लेख गरिन्। मन्त्री गौतमले स्थानीय तहले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन पहल गर्नुपर्ने धारणा राखिन्।












