नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, नवीन सोच र दिगो लगानीमार्फत पूँजी बजारमा योगदान जारी

काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको सफल सेवा पूरा गर्दै शुक्रबार १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालस्थित नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
२०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । स्थापना कालदेखि नै व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल हुँदै आएको संस्थाले बदलिँदो वित्तीय परिवेशअनुसार आफूलाई निरन्तर परिमार्जन गर्दै आएको जनाएको छ ।
नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन, डिपी सेवा, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूति लगायतका सेवाहरू प्रदान गर्दै आएको छ । साथै इन्भेस्टमेन्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवासमेत सञ्चालन गर्दै आएको छ ।
यसका अतिरिक्त संस्थाले कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत पुनर्संरचना, मूल्यांकन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन तथा लगानीसम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । निकट भविष्यमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारीमा पनि संस्था रहेको जनाएको छ ।
१५औँ वर्षको उपलब्धिलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्टले आगामी दिनमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री सेवा तथा दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाले आफ्ना ग्राहक, नियामक निकाय, सञ्चारकर्मी, संस्थापक कम्पनी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।












