स्वास्थ्य बीमाको रकम सरकारले भुक्तानी नगरे महानगरपालिका आफैँले व्योर्हेने मेयर महर्जनको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले सो रकम तिर्ने घोषणा गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । उनले कथं कदाचित भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने उल्लेख गरे ।
महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए ।
उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर र पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि एक उदाहरणीय अभ्यास हुनेछ ।
उनले भने, ‘पाटन अस्पतालकै सुझाव र सल्लाह बमोजिमको फ्यासालिटीहरु इन्स्टल गरेको एउटा अर्को स्वास्थ्य केन्द्र बनाइरहेका छौँ । निकट भविष्यमै खोल्न गइरहेका छौँ । त्यो खोलिसकेपछिको अवस्थामा राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले धेरै राम्रो सेवा प्रवाह गर्नसक्छौँ । यो मुलुकको ७५३ वटा स्थानीय पालिकाहरुमध्येमा ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर जुन काम अघि बढाएका छौँ, यो सम्पूर्ण पालिकाका लागि एउटा असल अभ्यास हुन गएको छ ।
उनले थप भने, ‘अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर । बीमाको बारेमा कुरा गर्दा मन्त्रीज्युसँग रिंगटा लागे लागे जस्तो भयो । कथम् कदाचित यो स्वास्थ्य केन्द्र नेपाल सरकारले भुक्तानी नगरेको कारणले बन्द गर्नुपर्यो भने सबैभन्दा बढी गाली मैले खानुपर्ने रहेछ । पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस् । उहाँहरुको समस्या परिरहेको छ । कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु । जे पर्ला पर्ला ।’
मेयर महर्जनले ७५२ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको बताए ।












