सर्वोच्चले प्रदीप अधिकारीलाई पुर्पक्ष थुनामा पठाउने विशेष अदालतको आदेश सदर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ।
विशेष अदालतको आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा अपिल गरेका थिए। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एसीसी)ले नलिञ्चोकको हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको थियो। विशेष अदालतले गत २१ मंसिरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आयोगले हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो।
सर्वोच्चको आदेशपछि अब बिशेष अदालतबाट फैसला नहुँदासम्म अधिकारी कारागारमै बस्ने भएका छन्। उनी हाल डिल्लीबजार कारागारमा रहेका छन्।
त्यसैगरी, पोखरा विमानस्थलको भ्रष्टाचार प्रकरणमा पनि अधिकारी प्रतिवादी छन्। यसमा उनलाई पाँच लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने माग छ। अधिकारीसँग सम्बन्धित अन्य भ्रष्टाचार प्रकरणमा पनि आयोगले छानबिन गरिरहेको छ।












