इतिहास दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रिंदै नेपाल, पहिलो खेलमै इङ्ल्यान्डसँग भिडन्त

काठमाडौं । तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली क्रिकेट टोलीका लागि आजको दिन विशेष महत्वको छ। मुम्बईस्थित ऐतिहासिक वाङ्खडे स्टेडियममा नेपालले आफ्नो विश्वकप अभियानको सुरुआत दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डविरुद्ध गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो। त्यस संस्करणमा हङकङ र अफगानिस्तानमाथि जित निकाल्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति मजबुत बनाएको थियो। तर सन् २०२४ मा भएको दोस्रो सहभागितामा नेपालले तीन खेल खेले पनि जितको स्वाद चाख्न सकेन। यद्यपि, बलियो टोली दक्षिण अफ्रिकाविरुद्ध अन्तिम बलसम्म पुगेको खेलमा केवल एक रनले पराजित हुँदै नेपालले विश्व क्रिकेट समुदायको ध्यान तानेको थियो।
यसपटकको विश्वकपमा नेपालले चार खेल खेल्नेछ। इङ्ल्यान्ड र दुई पटककै च्याम्पियन वेस्ट इन्डिजजस्ता दिग्गज टोलीसँगै इटाली र स्कटल्यान्ड पनि नेपालका प्रतिस्पर्धी हुन्। सुपर एट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रने नेपालका लागि कम्तीमा एक ठूला टोलीविरुद्ध ऐतिहासिक जित निकाल्नु अपरिहार्य देखिन्छ।












