रातारात धनी बन्ने चाहनाले अनलाइन बेटिङको फन्दामा, सर्वसाधारणको रकम डुब्दा मुकदर्शक राष्ट्र बैंक!

काठमाडौँ । रातारात धनी बन्ने चाहनाले पछिल्लो समय नेपाली समाजमा गम्भीर समस्या निम्त्याएको छ । थोरै लगानीमा दोब्बर, तेब्बर आम्दानी हुने प्रलोभन देखाएर अनलाइन जुवा र सट्टेबाजी (अनलाइन बेटिङ) प्लेटफर्ममार्फत दैनिक करोडौँ रुपैयाँ ठगी भइरहेको तथ्य बाहिरिँदै आइरहेको हो । वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक दबाब र छिटो सफल हुने मानसिकताले विशेषगरी युवापुस्ता यस्तो जालोमा फस्दै गएको देखिन्छ ।
पछिल्ला वर्षहरूमा अनलाइन बेटिङमा १६ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता उल्लेख्य रूपमा बढेको छ । सरकारले गैरकानुनी घोषणा गरेको अनलाइन जुवा र सट्टेबाजीमा युवाहरू खुलेआम पैसा हालिरहेका छन् । मोबाइल फोन र इन्टरनेटको सहज पहुँचले यो समस्या झनै जटिल बन्दै गएको छ । खेलकुदप्रतिको रुचि, विदेशी लिगहरू, क्रिकेट र फुटबलका ठूला प्रतियोगितालाई माध्यम बनाएर अनलाइन बेटिङ कम्पनीहरूले युवालाई आकर्षित गरिरहेका छन् ।
पछिल्लो समय केही चर्चित युट्युबर, टिकटकर, मोडल तथा सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’हरूले अप्रत्यक्ष रूपमा अनलाइन बेटिङलाई प्रोत्साहन गर्ने सामग्री उत्पादन गरिरहेका छन् । ‘सजिलो आम्दानी’, ‘गेम खेलेर पैसा कमाउने’ जस्ता शीर्षकसहितका भिडियोले युवा मानसिकतामा गहिरो प्रभाव पारिरहेको छ । यस्ता सामग्रीले अवैध गतिविधिलाई सामान्य र वैधजस्तै देखाउने काम भइरहेको छ ।
सुरुमा सानो रकम जितेपछि ठूलो लगानी गर्न प्रेरित गरिने, त्यसपछि खाता बन्द हुने, रकम झिक्न नपाइने वा विभिन्न बहानामा पैसा फसाइने गरेको देखिन्छ । कतिपय अवस्थामा ऋण लिएर वा परिवारको बचतसमेत जोखिममा राखेर अनलाइन बेटिङमा पैसा हाल्ने गरेको पाइएको छ । यसले आर्थिक क्षतिसँगै पारिवारिक कलह, मानसिक तनाव र सामाजिक समस्यासमेत बढाएको छ ।
अनलाइन बेटिङ संग्लन पक्राउ पर्दै स्वदेशी र विदेशी
अनलाइन बेटिङ मार्फत ठगी हुने रकमको तथ्याङ प्रहरी समक्ष समेत छैन । एकिन तथ्याङ नभएपनि यस्ता गैरकानुनी कामबाट सर्वसाधारणको दैनिक लाखौं रकम गुमि रहेको प्रहरीको आंकलन छ ।
पछिल्लो साढे चार आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपालमा अनलाइन बेटिङसम्बन्धी गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता र पक्राउको संख्या निरन्तर बढ्दै गएको देखिन्छ । प्रहरीको अभिलेखअनुसार आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म अनलाइन बेटिङका घटनामा संलग्न ठहर भई सयौँ व्यक्तिहरू पक्राउ परिसकेका छन् ।
उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा अनलाइन बेटिङसँग सम्बन्धित एक मात्र मुद्दा दर्ता भएको थियो भने सो वर्ष पक्राउ पर्नेको संख्या न्यून देखिएको थियो । तर त्यसपछि क्रमशः अनलाइन जुवा तथा सट्टेबाजीका घटनामा तीव्र वृद्धि देखिन थाल्यो । आर्थिक वर्ष २०७९/८० मा १९ वटा मुद्दा दर्ता हुँदा ४९ जनाभन्दा बढी व्यक्ति पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा पनि यो प्रवृत्ति रोकिएन । उक्त वर्ष २० वटा मुद्दा दर्ता हुँदा ६० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । यस्तै, २०८१/०८२ मा मुद्दा दर्ता र पक्राउ दुवै उल्लेख्य रूपमा बढेका छन् । सो अवधिमा २९ वटा मुद्दा दर्ता भई सयभन्दा बढी व्यक्ति प्रहरीको नियन्त्रणमा परेका थिए, जसमा स्वदेशी र विदेशी दुवै नागरिक संलग्न रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म आइपुग्दा समेत अनलाइन बेटिङसम्बन्धी गतिविधि नियन्त्रणमा नआएको देखिन्छ । पुससम्म मात्र तीन वटा मुद्दा दर्ता भइसकेका छन् भने केही महिला सहित चार जना पक्राउ परिसकेका छन् । जेनजी आन्दोलनका कारण प्रहरीका भवन र कागजातमा भएको आगजनीले गर्दा केहि सक्रियतामा केहि कमी आएको देखिन्छ ।
कुल जम्मा हेर्दा पछिल्लो साढे चार वर्षमा अनलाइन बेटिङका ७२ भन्दा बढी मुद्दा दर्ता भएका छन् भने २ सय ६० भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरूमा पुरुषको संख्या बढी भए पनि पछिल्ला वर्षहरूमा महिलाको संलग्नता पनि देखिन थालेको छ ।
प्रहरी सामु आउनै डराउँछन् पिडित, राष्ट्र बैंक समेत गहिरो निद्रामा
अनलाइन बेटिङ मार्फत ठगीएका पिडितहरु प्रहरी समक्ष उजुरी नै दिन डराउने गरेको पाइन्छ । सरकारद्वारा अवैध ठहरिएको कार्य गर्दा प्रहरी समक्ष गए थप झमेला पर्ने डरले पिडित प्रहरी सामु जानै डराउने अवस्था गरेको छ ।
साइबर ब्यूरोलाई समेत यस्ता कार्य रोक्न हम्मेहम्मे पर्ने गरेको छ । प्रविधिगत निगरानी कमजोर हुँदा विदेशी सर्भरमार्फत सञ्चालन हुने ‘वान एक्स बेट’ जस्ता प्लेटफर्महरू नेपालमा सजिलै चलाइरहेको हुँदा नियन्त्रणमा समस्या देखि रहेको साइबर ब्यूरोका प्रवक्ता दिपक राज अवस्थी बताउँछन् । बैंकिङ प्रणाली, डिजिटल वालेट र क्रिप्टोकरन्सीजस्ता माध्यम प्रयोग गरेर अवैध कारोबार लुकाउने प्रयास भइरहेको पाइन्छ । साइबर अपराध नियन्त्रण, वित्तीय निगरानी र अन्तर्राष्ट्रिय सहकार्य बिना यस्तो गतिविधि रोक्न कठिन छ ।
अनलाइन बेटिङमा हुने कारोबार नेपाल राष्ट्र बैंकबाट सान्यताप्राप्त बैंकिङ संख्याहरुबाट नै हुने गरेको छ । मोबाइल वालेटदेखि मोबाइल बैंकिङ मार्फत समेत अनलाइन बेटिङसँग सम्बन्धीत कारोबार हुने गरेको छ । तर, यसलाई निरन्तणमा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने राष्ट्र बैंकले भने मौन निद्रामा रहेको देखिन्छ । सरकार पक्षसँग समन्वयकारी भुमिका खुल्नु पर्ने राष्ट्र बैंकले सुस्त बन्दा यस्ता अवैध कारोबारको दायरा वृद्धि भइरहेको देखिन्छ ।












