पुँजी बजार राताम्यः फाइनान्स र विकास बैंकका लगानीकर्ता डुबे, किन आइरहेको छ गिरावट ?

२६ माघ २०८२, सोमबार १५:०७

काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार राताम्य रह्यो । आइतबारको गिरावटको निरन्तरता सोमबार पनि देखिएको हो । बजारमा ओरालो लाग्दा लगानीकर्ताहरू हैरान भएका छन् ।

बजारमा हाल ‘पर्ख र हेर’को अवस्था छ भने थोरै नाफा भए लगानीकर्ता सेयर बेच्ने प्रवृत्ति देखिन्छ । साना–ठूला लगानीकर्ताबीच डर र सतर्कता बढ्दा बजारमा उतार–चढाव बढेको विश्लेषकहरूले बताए । यसले बजार स्थायित्वका लागि चुनौती प्रस्तुत गरेको छ ।

यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । केही संस्थाहरूको वित्तीय अवस्था अपेक्षाकृत कमजोर देखिनुले लगानीकर्तामा सतर्कता बढाएको छ । नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरका सूचक कमजोर देखिनुले पुँजी बजारमा डरको वातावरण सिर्जना गरेको विश्लेषकहरूले बताए ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही समय पुँजी बजारमा उत्साह देखिएको थियो। तर चुनावपछि नयाँ नेतृत्वको शेयर बजारसम्बन्धी नीति के हुने विषयमा अझै अन्यौल छ। यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने र पूँजी बजारप्रति उदार नीति अपनाउने प्रयास गरेकाले निकट भविष्यमा बजारमा स्थायित्व र सुधारको सम्भावना देखिएको विश्लेषकहरूले जनाएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०५ अकंले घटेर २६७२.३९ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैैंक समूहको ०.७७ प्रतिशत, विकास बैंक समूहको १.३७ प्रतिशत, फाइनान्स समूहको २.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*