प्रविधिसँगै भ्रष्टाचारका प्रवृत्ति जटिल बन्दै गए: प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
प्रमुख आयुक्त राईले अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उल्लेख गर्दै सुशासन स्थापनामा सरकार, नागरिक समाज र सञ्चारजगतको भूमिका अपरिहार्य रहेको बताए। आयोग ऐन, नियम र कानुनअनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको उनले स्पष्ट पारे।
भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउन जनशक्ति वृद्धि, कार्यशैलीमा सुधार तथा प्रविधिको प्रयोग बढाइएको जानकारी दिँदै उनले प्रविधिको विकाससँगै भ्रष्टाचारका प्रवृत्ति झन् जटिल बन्दै गएको बताए। त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।
प्रमुख आयुक्त राईले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै पाँच वर्षे कार्यकालमा आयोगको स्तरवृद्धि गरिएको उल्लेख गरे। हालको कार्यशैलीले समाजमा सुशासनप्रति आशा जगाएको उनले बताए।
स्थापना दिवसको अवसरमा आयोगले नेपाल प्रहरी, आयोगका कर्मचारी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ। उत्कृष्ट अख्तियार सेवा पुरस्कार र उत्कृष्ट अनुसन्धान अख्तियार पुरस्कार भने माघ २८ गते आयोजना हुने स्थापना दिवसको मूल समारोहमा वितरण गरिने प्रमुख आयुक्त राईले जानकारी दिए।












