बीमा सेवामा हुलाक टिकट टाँस्ने अभ्यास हटाइयो

काठमाडौँ । बीमा सेवामा लामो समयदेखि प्रचलनमा रहेको हुलाक टिकट टाँस्ने अभ्यास अब हटाइएको छ। नेपाल बीमा प्राधिकरणले बीमा सेवा प्रवाह प्रक्रियालाई सरल, डिजिटल र समयसापेक्ष बनाउने उद्देश्यसहित उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
प्राधिकरणले सोमबार सबै प्रकारका बीमा कम्पनी, बीमा ब्रोकर (दलाल) तथा बीमा मध्यस्थकर्ताका नाममा परिपत्र जारी गर्दै बीमा सेवासम्बन्धी कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन अन्त्य गर्न निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार गत मंसिर २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रचलित कानुनमा स्पष्ट रूपमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाह प्रक्रियामा हुलाक टिकट टाँस्ने अभ्यास हटाउने निर्णय गरेको थियो। सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बीमा क्षेत्रका सबै सरोकारवालालाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको हो।
बीमा दाबी, बीमालेख जारी, नवीकरण, संशोधनलगायत विभिन्न सेवा प्रक्रियामा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्थाले सेवाग्राही र सेवा प्रदायक दुवैलाई अनावश्यक झन्झट बढाएको भन्दै आलोचना हुँदै आएको थियो।













