जेनजी आन्दोलनको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडौं । अधिवक्ता स्वागत नेपालले सरकारले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक नगरी षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। एक पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सरकारले जनताले नचाहेको चुनाव गराउन लाग्दा प्रतिवेदन सार्वजनिक नगरेको बताए।
भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजी समूह र सरकारबीच पहिले जेनजी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्ने र त्यसपछि मात्रै चुनाव गर्ने सहमति भएकोमा सरकार त्यसको विपरीत चलिरहेको बताएका छन्। उनले यदि चुनावपछि मात्रै आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ भने त्यो औचित्यहीन रहने पनि बताएका छन्। ‘प्रतिवेदन सार्वजनिक नगर्नु भनेको कारबाहीबाट उन्मुक्ति दिलाउनु हो।’ उनले भने।
प्रतिवेदन सार्वजनिक भए लगत्तै बालबालिका माथि दमन गर्ने र जनताको करले बनेको सिंहदरबार जलाउने व्यक्तिहरू कारवाहीमा पर्ने र त्यसो नभए त्यो प्रतिवेदन प्रतिवेदन जस्तै नहुने उनले बताए। ‘जब प्रतिवेदन सार्वजनिक गरिन्छ प्रतिवेदन सार्वजनिक गरेपछि त्यहा दोषीहरूमाथि कारबाहीको सिफारिस हुनेछ संसारभर यसरी छानबिन गरिसकेपछि प्रतिवेदन सार्वजनिक गर्नुको अर्थ दोषीहरूमाथि कारबाहीको सिफारिस पनि हो।’
उनले यसपूर्व छानबिन समिति गठन गरेर सहकारी ठगीका सम्बन्धमा कारबाहीका लागि सिफारिस गरेपछि मात्रै अनुसन्धान र पक्राउ प्रक्रिया अघि बढेको उदाहरण देखाउँदै जेनजी आन्दोलनको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरेका छन्। छानबिन समितिले सिफारिस गरिसकेपछि दोषी उम्मेदवार बनेको छ भने पनि पक्राउ गर्नु पर्ने माग गरे।
‘गोली चलाउनेहरू थिए, चलाउन आदेश दिनेहरू थिए। सिंहदरबार जलाउनेहरू थिए, जलाउन आदेश दिनेहरू थिए। उनीहरू जोजो दोषी देखिन्छन् उनीहरूमाथि कारबाहीको सिफारिस हुनेछ र प्रहरीले पक्राउ गरेपछि मात्रै चुनाव गर्नु पर्छ।’ उनले भने। सरकारले अहिले हाम्रो म्यान्डेट चुनाव मात्रै हो भनेर छानबिन प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाए। ‘प्रतिवेदन सार्वजनिक नगर्ने, अझै म्याद थप्दै जाने, चुनावको अघिल्लो दिन मात्रै सार्वजनिक गरेर कारबाहीको प्रक्रिया शुरू गर्नै समय बाँकी नरहने गरेर दोषीहरूलाई चुनाव उठ्न दिने काम भएको छ।’
‘फागुन १९ गते प्रतिवेदन बुझाउने वा बुझाउने मात्रै तर सार्वजनिक नगर्ने लगायतको षड्यन्त्रमा सरकार लागेको देखिएको छ। जलाउनेहरू सरकारमा गए गोली चलाउनेहरूमाथि कारबाही गर्ने र गोली चलाउनेहरू सरकारमा गए जलाउनेहरूमाथि कारबाही गर्ने डर उनीहरूलाई लागेको छ।’ उनले थपे।












