लिवर्टी माइक्रो लाइफको नाफा २५ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा झण्डै २५ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवको ६ महीनासम्म ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको ६ महीनासम्म २४.९१ प्रतिशतको वृद्धि सहित ७३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६ करोड ७४ लाख रुपैयाँबाट १९२.६८ प्रतिशतले बढेर १९ करोड ७५ लाख रुपैयाँ नाघेको छ भने लगानी तथा कर्जाबाट हुने आम्दानी २ करोड ४६ लाख रुपैयाँबाट २१.५७ प्रतिशतले बढेर झण्डै ३ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४४.३७ प्रतिशतले बढ्दा कुल खर्च १५२.५२ प्रतिशतले बढेको छ भने अभिकर्तालाई दिइने कमिशन बापतको रकम १४३.५८ प्रतिशतले र जीवन बीमा कोषको आकार ५१३.३६ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।
चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ८९ हजार रुपैयाँ र जगेडा कोषमा १ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ। ७० करोड ३६ लाख रुपैयाँ लगानी गरेको कम्पनीको कुल सम्पत्तिको मूल्य ९२ करोड ८७ लाख रुपैयाँभन्दा माथि रहेको छ।













