नेप्सेले भन्यो, ‘५० लघुवित्तमध्ये २२ कम्पनी कारोबार योग्य’ कुन कुन परे ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार योग्य २२ वटा लघुवित्त कम्पनीको सूची सार्वजनिक गरेको छ । कुल ५० लघुवित्त वित्तीय संस्थामध्ये आवश्यक मापदण्ड पूरा गरेका २२ कम्पनीलाई मात्रै नेप्सेले धितोपत्र कारोबारका लागि योग्य ठहर गरेको हो ।
नेप्सेले धितोपत्र व्यापारी कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद–२ अन्तर्गत दफा ३ (२) अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको नामावली तयार गरेको जनाएको छ । सोही कार्यविधिको दफा ३ (३) बमोजिम अद्यावधिक गरिएको सूचीलाई दफा ३ (१) अनुसार सार्वजनिक गरिएको नेप्सेले स्पष्ट पारेको छ ।
सूचीमा समावेश भएका लघुवित्त कम्पनीहरूले नियामक निकायले तोकेको वित्तीय, प्रशासनिक तथा सुशासनसम्बन्धी मापदण्ड पूरा गरेकाले तिनका सेयरमा लगानी तुलनात्मक रूपमा सुरक्षित रहने विश्वास गरिएको छ । यसले स्टक डिलरहरूलाई कारोबार गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने नेप्सेको अपेक्षा छ ।
लगानी सुरक्षित हुने कम्पनीमा आशा, छिमेक, सिवाईसी, डिप्रोक्स, फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, ग्लोबल आइएमई, जीवन विकास, कालिका, महिला, महुली, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, नेरुडे मिर्मिरे, निर्धन उत्थान, आरएसडिसि, सम्पदा, साना किसान, सूर्यदया ओमी, स्वाभलम्बन, स्वरोजगार र विजय लघुवित्त रहेका छन् ।













