सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । उक्त प्रयोजनको लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।
वि.सं. २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ सालदेखी उत्पादन गरिरहेको सिद्धार्थ फर्मास्युटीकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन मार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ ।
कम्पनीका अनुसार कम्पनीको मूल लक्ष्य “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहुन् ” भन्ने विश्वासमा आधारित छ । यस कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा-१५ मा रहेको छ ।












