राष्ट्र निर्माणको बहसलाई केन्द्रमा राखिएको खेम शर्माका तीन पुस्तक सार्वजनिक

२९ माघ २०८२, बिहीबार १०:१६

काठमाडौं । लेखक खेम शर्माद्वारा लिखित ‘नेपालवाद’, ‘नागरिक प्रश्न’ र ‘नागरिक जिम्मेवारी’ नामक तीन कृति एकैसाथ सार्वजनिक गरिएको छ। राष्ट्र निर्माण, नागरिक चेतना र दीर्घकालीन नीति–विचारलाई केन्द्रमा राखेर तयार गरिएका यी पुस्तकहरूले सार्वजनिक बहसलाई नयाँ दिशामा लैजाने विश्वास लेखकले व्यक्त गरेका छन्।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले राष्ट्रको विकासका लागि विचार, जिम्मेवारी र संस्थागत दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार “ब्लु–प्रिन्ट यात्रा” नाम दिइएको यो वैचारिक अभियान सन् २०२६ जनवरी १ बाट औपचारिक रूपमा शुरु गरिएको हो। त्यसयता राष्ट्रका आधारभूत विकास तथा शासनका विभिन्न क्षेत्रलाई केन्द्रमा राखेर निरन्तर लेखन, अनुसन्धान र सार्वजनिक बहस अघि बढाइएको उनले बताए।

यसै अभियान अन्तर्गत जनवरी २५ मा ‘नागरिक प्रश्न’ तयार गरिएको, फेब्रुअरी २ मा ‘नागरिक जिम्मेवारी’ प्रस्तुत गरिएको र ‘नेपालवादः राष्ट्रिय नीति–विचार केन्द्र (परिकल्पना)’ मार्फत दीर्घकालीन नीति–ज्ञान, तथ्यमा आधारित बहस तथा अनुसन्धान संरचनाको प्रस्ताव अघि सारिएको उनले जानकारी दिए।

शर्माले पछिल्ला पाँच महिनाको अनुभवले नेपाललाई केवल नाराभन्दा पनि स्पष्ट नीति–दृष्टि, जिम्मेवार नागरिक सहभागिता र व्यवहारिक समाधान आवश्यक रहेको निष्कर्षमा आफूहरू पुगेको उल्लेख गरे। तीनवटै पुस्तक डिजिटल माध्यमबाट ई–बुकका रूपमा सार्वजनिक गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*