नोक्सानीको दलदलमा सागर डिष्टिलरी, नाफा र ईपिएस ऋणात्मक

२९ माघ २०८२, बिहीबार ११:१०

काठमाडौँ ।  सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेसँगै कम्पनीको वास्तविक वित्तीय अवस्था सतहमा देखिएको छ। विवरणले बिक्री आम्दानी उल्लेख्य रूपमा बढेको देखाए पनि त्यसको प्रतिफल नाफामा देखिन नसक्दा कम्पनीको अवस्था झनै कमजोर देखिएको छ। आम्दानी बढ्दा पनि नोक्सानी थप गहिरिनु कम्पनीको व्यवस्थापन, खर्च संरचना र दीर्घकालीन टिकाउपनप्रति गम्भीर प्रश्न उठाउने अवस्था बनेको छ।

प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ करोड ३२ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो ५५.१४ प्रतिशतको वृद्धि हो। यस्तै, खुद बिक्री आम्दानी पनि ३ करोड ७६ लाख रुपैयाँबाट बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ, जुन ५९.६५ प्रतिशतले वृद्धि भएको देखिन्छ। कागजमा हेर्दा यी तथ्यांक उत्साहजनक देखिए पनि वित्तीय नतिजाको अन्तिम लाइन भने चिन्ताजनक बनेको छ।

कम्पनीको कुल नाफा पनि गत वर्षको १ करोड ८४ लाख रुपैयाँबाट बढेर ३ करोड ४७ लाख रुपैयाँ पुगेको छ। कुल नाफामा ८८.३२ प्रतिशतको वृद्धि देखिनु आफैंमा सकारात्मक संकेत जस्तो लाग्न सक्छ। तर यही बिन्दुमा कम्पनीको कमजोर पक्ष प्रस्ट देखिन्छ। यति ठूलो दरले बिक्री र कुल नाफा बढ्दा पनि कम्पनी अन्ततः नोक्सानीमै सीमित रहनुले खर्च व्यवस्थापन अत्यन्तै कमजोर रहेको संकेत गर्छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सागर डिष्टिलरीले २ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत झनै नकारात्मक बनेको छ। गत वर्ष वार्षिकीकृत ईपीएस ५ रुपैयाँ ३ पैसा ऋणात्मक रहेकोमा चालु वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ रुपैयाँ २१ पैसा ऋणात्मक पुगेको छ।

७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको देखिए पनि लगातारको नोक्सानीले यो इक्विटी दीर्घकालसम्म सुरक्षित रहन्छ भन्ने आधार कमजोर छ।

कमजोर वित्तीय अवस्था हुँदाहुँदै पनि शेयर बजारमा कम्पनीको शेयर मूल्य २ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ। आम्दानी, नाफा, ईपीएस र नोक्सानीजस्ता आधारभूत सूचकले समर्थन नगरेको मूल्य स्तरमा शेयर कारोबार हुनु स्वयंमा अस्वाभाविक देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*