वित्तीय सूचांकमा बलियो बन्दै क्रेष्ट माइक्रो लाइफ, ९२% ले बढ्यो समग्र व्यवसाय

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित गरेको गरेको वित्तीय विवरण अनुसार बीमा व्यवसायका साथै मुनाफामा उच्च बृद्धि भएको छ ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ५७ लाख ५९ हजार रुपैयाँ, जगेडा कोषमा चार करोड ५३ लाख रुपैयाँ र अन्य इक्विटीमा तीन करोड २३ लाख रहेको छ ।
यस अवधिमा कम्पनीको बीमा व्यवसाय ९२ प्रतिशतले बढेर १४ करोड ३१ लाख रुपैयाँबाट बृद्धि भइ २७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई सक्षम बनाउनुका साथै उत्कृष्ट व्यवसायीक रणनीति अबलम्बन गरी आक्रामक रुपमा कुल बीमा शुल्क बढाएको छ ।
समीक्षा अवधिमा कम्पनीले २० करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७६ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४० लाख १७ हजार रुपैयाँबाट बढेर एक करोड १७ लाख रुपैयाँ पुगेको छ । समग्रमा कम्पनी वित्तीय सूचांकमा बलियो बन्दै गईरहेको छ ।












