१४ जीवन बीमा कम्पनीहरुको मुनाफा तीन अर्ब ३२ करोड, रिलायबलको सर्वाधिक, बृद्धिदरमा एलआइसी नेपाल

२९ माघ २०८२, बिहीबार १३:११

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४.७३ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा तीन अर्ब ३२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले तीन अर्ब ४८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा एलआइसी नेपाल अग्रस्थानमा रहेका छन् । कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई सक्रिय बनाउँदै व्यवस्थानमा सुधार दिदाँ वित्तीय प्रगती हासिल गरेका हुन् ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा  १२.९८ प्रतिशत बढी रहेको छ ।

साथै, दोस्रो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा २७.४५ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । मुनाफाको आधारमा तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २.७६ प्रतिशतले बढेर २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै चालु आवको पुष मसान्तसम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सको १.११ प्रतिशतले बढेर २८ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १९.२१ प्रतिशतले बढेर २७ करोड ६१ लाख रुपैयाँ र आइएमई लाइफको १.०४ प्रतिशतले बढेर २७ करोड ६ लाख रुपैयाँ खुद नाफा पुगेको छ ।

साथै एशियन लाइफले २६ करोड ३५ लाख रुपैया, सिटिजन लाइफले २३ करोड १५ लाख रुपैयाँ, एलआइसी नेपालले २२ करोड ४५ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

समीक्षा अवधिमा मेट लाइफ नेपालले २० करोड ३५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २० करोड १८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १३ करोड ३१ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

बृद्धिदरको आधारमा
खुद नाफा आन्तर्गत गत आर्थिक वर्षको तुलनामा एलआइसी नेपालको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । एलआइसी नेपालले मुनाफा ५८.३६ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा १९.२१ प्रतिशत र तेस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १२.९८ प्रतिशतले बृद्धि भएको छ । समग्रमा १४ जीवन बीमा कम्पनीहरुमध्ये चार वटाको मुनाफा सामान्य अंकले घटेको छ भने बाँकी रहेका १० वटा कम्पनीहरुको खुद नाफा बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*