चार दिनको राताम्यमा ब्रेकः विकास बैंक र हाइड्रोपावरमा चमक, लय समाउन सक्ला ?

काठमाडौँ । निरन्तर चार दिनसम्म ओरालो लागेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । पछिल्ला केही दिनदेखि बजारको गति सुस्त बन्दै जाँदा समग्र लगानी वातावरण कमजोर बनेको छ । लगातार गिरावटले लगानीकर्ताको मनोबल प्रभावित भएको छ भने आजको सामान्य सुधारले पनि बजारमा खासै उत्साह थप्न सकेको छैन ।
हालको बजार अवस्था हेर्दा लगानीकर्ता निराश देखिन्छन् । बजार बढ्ने अपेक्षामा सेयरमा लगानी गर्ने धेरै लगानीकर्ताले अपेक्षित प्रतिफल नपाएपछि सेयर बिक्रीतर्फ ध्यान दिन थालेका छन्। यसले बजारमा आपूर्ति बढ्दै गएको छ भने माग कमजोर देखिएको छ । विश्लेषकहरूका अनुसार लगानीकर्ताको डर र सतर्कताले बजारमा अस्थिरता बढाइरहेको छ, जसका कारण छोटो अवधिमा बजारलाई सन्तुलनमा ल्याउन चुनौती देखिएको छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेका दोस्रो त्रैमाससम्मका वित्तीय विवरणले पनि बजारलाई थप दबाब दिएको छ। केही संस्थाहरूको नाफा अपेक्षाअनुसार नआउनु, कर्जा विस्तार सुस्त हुनु र सम्पत्ति गुणस्तरमा देखिएको कमजोरीले लगानीकर्तालाई थप सतर्क बनाएको छ। यी सूचकहरूले बैंकिङ क्षेत्रप्रति विश्वास कमजोर पार्दा सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ।
यद्यपि, प्रतिनिधिसभा निर्वाचन नजिकिँदा देखिएको पुँजी बजारको उत्साह भने टिक्न सकेन। चुनावपछि आउने नयाँ नेतृत्वले सेयर बजारका लागि कस्तो नीति ल्याउने भन्ने विषय अझै स्पष्ट नहुँदा लगानीकर्ता प्रतीक्षारत छन्। तर, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत दिनु र पुँजी बजारप्रति केही उदार नीति अपनाउने प्रयास गरेकाले निकट भविष्यमा बजारमा स्थायित्व आउन सक्ने र क्रमशः सुधार देखिन सक्ने विश्लेषकहरूको अनुमान छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९७ अकंले बढेर २६७१.०७ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली आएको छ । सर्वाधिक शेयर मूल्य विकास बैंक र हाइड्रोपावर समूहको बढेको छ । विकास बैंक समूहको १.१८ प्रतिशत र हाइड्रोपावर समूहको ०.९७ प्रतिशतले बढेको हो ।
बिहिबार १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













