राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो ३८ लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको पुस मसान्तसम्म ८० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ५२ प्रतिशतको गिरावट सहित ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानीको एक मुख्य स्रोत खुद बीमाशुल्क आर्जन ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट ८.४२ प्रतिशतले बढेर ६ अर्ब २४ करोड १२ लाख रुपैयाँ नाघेको छ भने लगानी तथा कर्जाबाट हुने आम्दानी १ अर्ब ९७ करोड ३३ लाख रुपैयाँबाट सामान्य बढेर २ अर्ब २ करोड ४४ लाख रुपैयाँ नाघेको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८ अर्ब १२ करोड ४३ लाख रुपैयाँबाट ४.२५ प्रतिशतले बढेर ८ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७ अर्ब ६४ करोड २४ लाख रुपैयाँबाट झण्डै ८ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ६७ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिइने रकम पनि साढे ९ करोड रुपैयाँबाट सामान्य वृद्धि गरी ९ करोड ७१ लाख रुपैयाँ पुर्याएको त्यसैगरी समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिइने रकम पनि साढे ९ करोड रुपैयाँबाट सामान्य वृद्धि गरी ९ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ भने कर्मचारी बोनस तथा खर्च ६ करोड ११ लाख रुपैयाँबाट वृद्धि गरी ७ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ।
चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा ४० करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ। ५३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कुल मूल्य ७० अर्ब ७२ करोड रुपैयाँभन्दा माथि रहेको छ।













