सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन मिति सर्यो

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गर्न तोकेको मिति एक दिन पछाडि सरेको छ। कम्पनीले यस अघि फागुन ४ गतेदेखि निष्काशन गर्ने भनेकोमा अब फागुन ५ गतेदेखि निष्काशन गर्ने भएको छ।
कम्पनीलाई सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले माघ २७ गते पत्र पठाउँदै अन्य कम्पनीको आईपीओ निष्काशनको तालिकासँग जुध्न गएकोले निष्काशन मिति परिवर्तन गर्न आग्रह गरेको थियो। त्यसैअनुसार कम्पनीले एकदिन ढिलो गरी बिक्री खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १५ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी आईपीओमध्ये सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ३१ हजार कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणाली मार्फत सजिलै आवेदन दिन सक्नेछन्।












