शिवम् सिमेन्टको मुनाफामा उछालः खुद नाफा ३५ करोड ७० लाख पुग्यो, ईपीएससहित अधिकांश सूचक मजबुद

१ फाल्गुन २०८२, शुक्रबार १०:२७

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उल्लेखनीय उछाल देखाएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२८ प्रतिशतभन्दा बढीले बढ्दै ३५ करोड ७० लाख रुपैयाँ नाघेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले करिब ५ करोड ६८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

नाफामा यस्तो तीव्र वृद्धि हुनुको मुख्य कारण लागत व्यवस्थापनमा आएको सुधार र समग्र सञ्चालन प्रभावकारिता बढ्नु मानिएको छ । यद्यपि समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने करिब स्थिर देखिएको छ । चालु वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ९ करोड रुपैयाँभन्दा केही बढी रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब १० करोड रुपैयाँको हाराहारीमै सीमित छ ।

छ महिनाको समग्र वित्तीय नतिजा हेर्दा कम्पनीले अन्य स्रोतबाट पनि उल्लेख्य आम्दानी गरेको देखिन्छ । चालु आवको पहिलो छ महिनामा शिवम् सिमेन्टले १० करोड ८२ लाख रुपैयाँभन्दा बढी अन्य आम्दानी गर्दै कुल नाफा ६५ करोड ४४ लाख रुपैयाँभन्दा माथि पुर्‍याएको छ । अघिल्लो वर्ष यही अवधिमा अन्य आम्दानी १२ करोड रुपैयाँभन्दा बढी भए पनि कुल नाफा करिब ४० करोड रुपैयाँमा सीमित थियो ।

खर्च संरचनातर्फ हेर्दा समीक्षा अवधिमा कम्पनीले बिक्री लागतका रूपमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । यसका साथै प्रशासनिक खर्च करिब १२ करोड रुपैयाँ र बिक्री तथा वितरण खर्च २२ करोड रुपैयाँभन्दा बढी रहेको छ । यी सबै शीर्षक जोड्दा कुल खर्च उल्लेख्य रहे पनि आम्दानी र लागतको सन्तुलनमा सुधार आउँदा करअघिको नाफा ४० करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

पूँजी संरचनाको दृष्टिले हेर्दा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी छ । यससँगै जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रकम सञ्चित रहेको छ, जसले कम्पनीको वित्तीय आधार बलियो रहेको देखाउँछ । पुस मसान्तसम्मको विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँभन्दा माथि कायम छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*