ओम मेगाश्रीको कमजोर वित्तीय चित्रः आईपीओपछि थप संकटमा, नाफा ४ करोड ऋणात्मक

१ फाल्गुन २०८२, शुक्रबार ११:०८

काठमाडौं । भर्खरै आईपीओ निष्कासन गरेर पुँजी बजारमा प्रवेश गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले निराशाजनक चित्र प्रस्तुत गरेको हो।

पुस मसान्तसम्म आइपुग्दा कम्पनी करिब ४ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ। विवरण अनुसार सो अवधिमा कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। सञ्चालनबाट भने कम्पनीले १० करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको देखिए पनि खर्चको भार थेग्न नसक्दा समग्र नतिजा घाटामै सीमित भएको छ।

उक्त अवधिसम्म कम्पनीको कुल आम्दानी १० करोड ५१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १४ करोड ३५ लाख रुपैयाँ नाघेको छ। आम्दानीभन्दा खर्च उल्लेखनीय रूपमा बढी हुँदा नाफामा फर्कन कम्पनीलाई चुनौती थपिएको देखिन्छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ४८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। यद्यपि अन्य जगेडामा ६ करोड २३ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९३ पैसामा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*