एसियाली विकास बैंकको दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठ

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया विभाग (सार्ड) को महानिर्देशकमा एसियाली विकास बैंककी वरिष्ठ अधिकारी सोना श्रेष्ठ लाई नियुक्त गरेको छ। यस जिम्मेवारीसँगै उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम तथा परियोजनाको समग्र कार्यान्वयनको नेतृत्व गर्नेछिन्।
करिब २७ वर्षको व्यावसायिक अनुभव बोकेकी श्रेष्ठले त्यसमध्ये २३ वर्ष एडीबीमै बिताएकी छन्। यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशक थिइन्। त्यसअघि उनले एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्वी एसियाको वित्तीय क्षेत्र तथा व्यापार डिभिजनकी निर्देशक तथा इन्डोनेसियाकी उपदेशीय निर्देशकका रूपमा समेत काम गरिसकेकी छन्। साथै, उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसिया विभागमा पनि विभिन्न जिम्मेवारी सम्हालेकी छन्।
नेपाली नागरिक श्रेष्ठले अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालय बाट अर्थशास्त्रमा विद्यावारिधि तथा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। त्यसैगरी म्यासाचुसेट्सस्थित स्मिथ कलेज बाट उनले अर्थशास्त्रमा स्नातक अध्ययन पूरा गरेकी हुन्।
सन् १९६६ मा स्थापना भएको एडीबीमा हाल नेपालसहित ६९ सदस्य राष्ट्र आबद्ध छन्। तीमध्ये ५० राष्ट्र क्षेत्रीय सदस्यका रूपमा रहेका छन्। एडीबीले दक्षिण एसियाली मुलुकहरूको दिगो विकास, समावेशी आर्थिक वृद्धि र क्षेत्रीय सहकार्यलाई केन्द्रमा राख्दै आफ्ना कार्यक्रम अघि बढाउँदै आएको छ।












