सूचना असमानताले पुँजीबजारमा असन्तुलन: अर्थमन्त्री खनाल

१ फाल्गुन २०८२, शुक्रबार १५:१६

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा समान सूचना नपुगेको अवस्थाले प्रतिस्पर्धा प्रभावित भइरहेको बताएका छन्। शुक्रबार राजधानीमा मिडियालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सही ढंगले सञ्चालन गर्न र लगानीकर्ताले उचित निर्णय लिन समयमै सूचना प्रवाह आवश्यक रहेको बताए।

खनालले पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिहरूले सूचना एकाधिकारका रूपमा प्रयोग गर्दै बजारमा असन्तुलन सिर्जना गरेको बताए। उनका अनुसार धातु बजारमा सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्छ।

खनालले भने, “सही सूचना प्रवाह अर्थतन्त्र सही तरिकाले चल्नका लागि आवश्यक छ। पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारण कतिपयले सूचना तत्काल पाउँछन् भने अरूले १० दिनपछि पाउँछन्। यस्तो अवस्थामा त्यो अवसर र लाभमा ठूलो अन्तर आउँछ। उदाहरणका लागि, सुन–चाँदीको मूल्यबारेको सूचना कुनै व्यवसायीले रियल टाइममा पायो भने, अर्को व्यवसायी ढिला पाउँदा दुवैबीच नाफा–नोक्सानीमा ठूलो फरक आउँछ।”

अर्थमन्त्री खनालका अनुसार नेपालमा सूचना हकसम्बन्धी ऐनले मात्रै सूचना खोजीको अवसर दिएको छैन। लेखामापदण्डहरू ठूला कम्पनी र अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार र त्यसको सामाजिक प्रभाव कसरी सार्वजनिक गर्नुपर्छ भन्ने स्पष्ट मार्गनिर्देशन गर्छन्। तर उनले पत्रकारहरूले यस्तो सूचना कम्पनीले जारी गर्यो कि गरेन भनेर गम्भीर अनुगमन नगरेको पनि उल्लेख गरे।

खनालले थपे, ‘समान अवसरको व्यवस्था विश्वभर प्रचलित भए पनि नेपालमा कम्पनीहरूले दलित, जनजाति र पिछडिएका वर्गलाई कति रोजगारी दिएका छन् भन्ने विवरण सहज रूपमा उपलब्ध छैन। नागरिकसम्म सही सूचना पुर्याउन अझै ठूलो सम्भावना बाँकी छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*