वीर अस्पतालले स्वास्थ्य बीमाबाट पाइने औषधी एक महिनाका लागि मात्र दिने

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउँदै आएको औषधि सेवासुविधा घटाएको छ । अस्पतालले विभिन्न कारण देखाउँदै फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि बीमामार्फत वितरण हुने औषधि सीमित गर्ने निर्णय गरेको हो ।
अस्पताल प्रशासनका अनुसार हाल स्टकमा पर्याप्त औषधि उपलब्ध नभएकाले सबै बिरामीलाई समान रूपमा सेवा दिन कठिनाइ भएको छ । सोही कारण सेवा पूर्ण रूपमा बन्द नगरी सीमित मात्रामा सञ्चालन गर्ने निर्णय लिइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा माघ २९ गते बसेको आन्तरिक बैठकले उक्त निर्णय गरेको हो । निर्णयअनुसार बीमित सदस्यहरूलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइनेछ ।
स्वास्थ्य बीमाबाट उपलब्ध गराइने औषधि सेवा पूर्ण रूपमा बन्द गर्न लागेको हो भन्ने प्रश्नमा अस्पताल प्रशासनले सेवा बन्द नभई घटाइएको स्पष्ट पारेको छ ।












