महाशिवरात्रि पर्व आज देशभर विधिपूर्वक मनाइँदै, पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड

काठमाडौँ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शनसहित मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने यो पर्वमा आराध्यदेव भगवान् शिवको उपासना गर्ने धार्मिक मान्यता छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार पर ब्रह्मले यही तिथिमा मध्यरात शिवरूप धारण गरेकाले उक्त समयमा पूजा–आराधना गर्दा यस लोकमा सुख–शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय विश्वास रहिआएको छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्तिपूर्वक पूजा गर्दैछन्।
शिव पुराणलगायतका ग्रन्थमा उल्लेख भएअनुसार कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये शिवरात्रि एक पवित्र पर्वका रूपमा मानिन्छ। यस अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष चहलपहल देखिएको छ। मध्यरातदेखि नै भक्तजनको भीड बढेपछि बिहान २ बजेदेखि मन्दिरका चारवटै ढोका खोलेर दर्शन सुरु गरिएको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ। महाशिवरात्रिको पूर्वसन्ध्यादेखि नै देशविदेशबाट आएका साधुसन्त र श्रद्धालुको आगमनले मन्दिर आसपास क्षेत्र निकै व्यस्त देखिएको थियो।
यस वर्ष महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अनुमान गरिएको छ। बढ्दो भीडलाई व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा र मोबाइल गस्तीसमेत बढाइएको जनाइएको छ। मुख्य प्रवेश नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गर्दै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको छ।
दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापन गरिएको छ भने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विशिष्ट अतिथिका लागि अलग व्यवस्था मिलाइएको छ। खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रको सङ्ख्या बढाइनुका साथै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर स्वास्थ्य सेवा तयारी अवस्थामा राखिएको छ। स्वयंसेवक परिचालन, माइकिङ प्रणालीमार्फत सूचना प्रसारण र १३ बुँदे सुरक्षा अनुरोध जारी गर्दै पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिएको कोषले जनाएको छ।












