राष्ट्रपति, प्रधानमन्त्रीसहितको उपस्थितिमा टुँडिखेलमा सेना दिवसको विशेष समारोह

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा महाशिवरात्रिका दिन काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै सेना दिवस मनाएको छ।
हरेक वर्ष महाशिवरात्रिका दिन मनाइने सेना दिवसअन्तर्गत यस वर्ष पनि विविध सैनिक कला प्रदर्शन, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम र आकर्षक झाँकी प्रस्तुत गरिएको थियो। समारोहमा सैनिक अनुशासन, व्यावसायिकता र परम्परागत पहिचान झल्किने कार्यक्रमहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति लगायत उच्च पदस्थ अधिकारीहरूका साथै स्वदेशी तथा विदेशी कूटनीतिक पाहुनाहरूको उपस्थिति रहेको थियो। विशेष समारोहमार्फत नेपाली सेनाको इतिहास, योगदान र राष्ट्रिय सुरक्षामा यसको भूमिकालाई स्मरण गरिएको सेनाले जनाएको छ।












