पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका निर्णायकः प्रमुख कार्यकारी अधिकृत जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न नीतिगत स्पष्टता, पूर्वाधार विस्तार र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
काठमाडौं जिल्ला होटल व्यवसायी संघको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जोशीले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे। उनले भने, ‘पर्यटन व्यवसाय मात्र होइन, यो राष्ट्रको छवि, संस्कृति र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। होटल व्यवसायीहरू सशक्त भए मात्रै समग्र पर्यटन उद्योग बलियो हुन्छ।’
बुढानिलकण्ठस्थित पबेरा हेरिटेज बुटिकमा आयोजित साधारणसभाको उदघाट्न सत्रमा विभिन्न होटल तथा पर्यटन सम्बद्ध संघ–संस्थाका पदाधिकारी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा होटल व्यवसायी महासंघ, विभिन्न क्षेत्रीय होटल संघ, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।












