नेपाल मजदुर किसान पार्टीद्वारा निर्वाचन घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ले घोषणापत्र सार्वजनिक गर्दै पार्टीले संसदलाई देशभक्तहरूको जीवन्त सदनका रूपमा विकास गर्न निरन्तर आवाज उठाउँदै आएको बताए ।
घोषणापत्रमा जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई बंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ । साथै दुर्गम तथा पिछडिएका क्षेत्रहरूको समुचित विकासका लागि रोपवे, केबुलकार, सुरुङमार्ग र रेलमार्ग निर्माणजस्ता दीर्घकालीन पूर्वाधार कार्यक्रम अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । सरकारी कर्मचारीलाई तलब खुलाउन ऋण लिनुपर्ने र ऋणको साँवा–ब्याज तिर्न पुनः ऋण लिनुपर्ने अवस्थालाई देशघाती कार्यको संज्ञा दिँदै त्यसविरुद्ध संघर्ष जारी राख्ने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी, घोषणापत्रमा भ्रष्टाचारविरुद्ध कठोर नीति लिने प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीलाई ज्यान सजायसम्मको कानुनी व्यवस्था गर्न संघर्षरत रहने उल्लेख छ । निर्वाचित जनप्रतिनिधिहरू आफ्नै निर्वाचन क्षेत्रमा बसेर जनताको सेवा गर्न पाउने तथा देशको सन्तुलित विकासमा योगदान दिन सक्ने कानुनी व्यवस्था सुनिश्चित गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले ऐन, कानुन र नीतिगत विषयमा गहिरो छलफल गर्दै देशलाई सही दिशामा अघि बढाउने नीति लिनु पार्टीको मुख्य जोड रहेको बताए । संसद जनताको मुद्दामाथि गम्भीर बहस हुने थलो हुनुपर्ने उल्लेख गर्दै उनले उम्मेदवारहरूले आफ्ना एजेन्डा स्पष्ट रूपमा जनतामाझ प्रस्तुत गर्न सक्नुपर्ने धारणा राखे ।
उनले ठूला दलहरू आगामी प्रधानमन्त्री को बन्ने भन्नेमा मात्र केन्द्रित रहेको टिप्पणी गर्दै संसदले उपयुक्त ठानेको व्यक्तिलाई मात्र प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिए । यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीहरूले देशका लागि के–कस्ता काम गरे भन्ने विषय आगामी संसदमा स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । अन्त्यमा उनले जनतालाई घोषणापत्र राम्ररी अध्ययन गरेर मात्र मत दिन आग्रह गरे ।












