घरजग्गा कारोबारबाट सात महिनामै करिब २७ अर्ब राजस्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा घरजग्गा कारोबारबाट सरकारको राजस्व उल्लेख्य रूपमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा घरजग्गा कारोबारबाट २४ अर्ब ७१ करोड एक लाख रुपैयाँ राजस्व उठेको थियो ।
विभागका अनुसार गत आर्थिक वर्षभरिमा घरजग्गा कारोबारबाट ५३ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यो राजस्व मुख्यतः घरजग्गा खरिद–बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर, दर्ता शुल्क तथा अन्य कर शीर्षकबाट उठेको हो ।
चालू आर्थिक वर्षको सुरुका केही महिनामा घरजग्गा कारोबार सुस्त देखिए पनि मंसिरयता कारोबार बढ्दै गएको छ । सरकारले जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई दिएको समयसीमा गत असारमै सकिए पनि त्यसबेला देशभरका ७५३ पालिकामध्ये २५३ पालिकामा मात्रै जग्गा वर्गीकरण सम्पन्न भएको थियो । बाँकी करिब पाँच सय पालिकामा वर्गीकरण नभएकै कारण कित्ताकाट रोकिएको थियो । कित्ताकाट नखुल्दा साउनदेखि कात्तिकसम्म घरजग्गा कारोबार प्रभावित भएको थियो ।
त्यसपछि सरकारले २५ कात्तिकमा भूउपयोग नियमावली संशोधन गर्दै जग्गा वर्गीकरण गर्ने म्याद आगामी असारसम्म थपेको थियो । नियमावली संशोधनसँगै कित्ताकाट खुल्दा मंसिरदेखि घरजग्गा कारोबारमा सुधार देखिएको विभागले जनाएको छ । यही कारण पछिल्ला महिनामा राजस्व संकलन पनि तीव्र रूपमा बढेको हो ।
विभागको तथ्यांकअनुसार साउनमा तीन अर्ब २८ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको थियो । भदौमा तीन अर्ब १४ करोड रुपैयाँ, असोजमा दुई अर्ब ७५ करोड रुपैयाँ र कात्तिकमा दुई अर्ब ७४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो । कित्ताकाट खुलेपछि मंसिरमा चार अर्ब ८४ करोड रुपैयाँभन्दा बढी, पुसमा पाँच अर्ब १७ करोड रुपैयाँ र माघमा पाँच अर्बभन्दा बढी राजस्व उठेको छ ।
राजस्व बढे पनि कारोबारको संख्या भने घटेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा देशभर दुई लाख ६५ हजार २०८ वटा घरजग्गा कारोबार भएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशतले कम हो । अघिल्लो वर्षको पहिलो सात महिनामा दुई लाख ७८ हजार २७८ वटा कारोबार भएका थिए । गत आर्थिक वर्षभरिमा भने पाँच लाख ९० हजारभन्दा बढी घरजग्गा कारोबार भएका थिए ।
विशेषज्ञहरूका अनुसार कारोबार संख्या घटे पनि जग्गाको मूल्य र मूल्यवृद्धि उच्च रहेमा राजस्व संकलन बढ्न सक्छ । साउनदेखि कात्तिकसम्म कित्ताकाट रोकिँदा कारोबार संख्या न्यून थियो । ती महिनामा क्रमशः करिब ३१ हजार, २७ हजार, २३ हजार र २८ हजार कारोबार मात्र भएका थिए । तर, मंसिरपछि स्थिति फेरिएको छ । मंसिर, पुस र माघमा क्रमशः ५० हजारभन्दा बढी घरजग्गा कारोबार भएका छन् ।
कित्ताकाट खुल्नु र बजारमा कारोबार बढ्नुले चालू आर्थिक वर्षमा घरजग्गा क्षेत्रबाट हुने राजस्व संकलन थप सुधारिने अपेक्षा गरिएको छ । विभागका अनुसार आगामी महिनामा पनि यही प्रवृत्ति कायम रहेमा वार्षिक लक्ष्य हासिल गर्न सहज हुने देखिन्छ ।












