फर्जी कागजातको भरमा पाल्पा सिमेन्टको आईपीओः वित्तीय अवस्था दर्दनाक, राजस्व छलि टाउको दुखाई!

काठमाडौँ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिजको वित्तीय विवरणमा गम्भीर शंका उत्पन्न भएको छ । नियामक निकायसँगको सेटिङ र फर्जी कागजातको भरमा आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले वास्तविक चित्र बाहिर ल्याएको हो ।
लगानीकर्तालाई गुमराहमा राख्दै तथ्य लुकाएर, भ्रामक विवरण प्रस्तुत गरेर आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीको मुनाफामा हाल भने ७३ प्रतिशतको गिरावट देखिएको हो । कम्पनीको मुनाफा ९ करोड ७५ लाख ४५ हजारबाट खुम्चिएर २ करोड ६३ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । आईपीओ आएसँगै वित्तीय विवरणमा देखिएको यो गिरावटले थप सेटिङ कुरालाई बल पुगेको हो ।
कम्पनीको बिक्री आम्दानी पनि लगातार घटिरहेको देखिएको छ। कम्पनीले बिक्रीमार्फत १ अर्ब ८९ करोड रुपैयाँ मात्र आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले बिक्रीमार्फत ४ अर्ब ११ करोड रुपैयाँ कमाएको तथ्यसँग तुलना गर्दा करिब ५५ प्रतिशतले आम्दानीमा गिरावट आएको देखिन्छ।
कम्पनीको कुल चुक्तापूँजी ३ अर्ब रुपैयाँ रहेको छ। कुल चालु सम्पत्ति २ अर्ब ९२ करोड र कुल चालु दायित्व १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.६२ रुपैयाँ रहेको छ।
वित्तीय रुपमा धरासयी भएपछि आईपीओ निष्कासनको बाटोमा अघि बढेको पाल्पा सिमेन्टले करोडौ राजस्व छलि गरेको कुरा समेत बाहिरी सतहमा आएको छ । कम्पनीले आय विवरण नबुझाउने (नन–फाइलर) फर्महरूसँग कारोबार गरी नक्कली भ्याट बिल प्रयोग गरी २०७७/७८ देखि २०७९/८० सम्म करिब ३० करोड रुपैयाँ राजस्व छलि गरेको पाइएको हो । आयकर ऐन २०५८ अनुसार यस्तो खर्च अडिटमा अस्वीकार हुने र शतप्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । तर, राज्यका नियामक निकायहरुको आखा छल्दै कम्पनीले गम्भीर अनियमितता गरेको गरेको देखिन्छ ।
कर छलिको विषयलाई लिएर राजस्व अनुसन्धान विभागको समेत ध्यान तानेको छ । विभागले कम्पनीले कर छलि गरेका तथ्य बारे सुक्ष्म अध्ययन गरी रहेको स्रोतले बताएको छ । विभागले कम्पनीको आय विवरण, भ्याट बिल, र कारोबारको तथ्यांक विश्लेषण गर्दै कम्पनीले गरेको कर छलि र नक्कली कारोबारको प्रमाण संकलन गरिरहेको छ। यसले नियामक निकायलाई कम्पनीको वित्तीय कमजोरी र अनियमितताबारे सचेत बनाएको छ।
यसबीच कम्पनीले आफ्नो आईपीओ सर्वसाधारणका लागि जारी गर्ने तयारी पूरा गरेको छ। कम्पनीले पहिले नै बैदेशीक रोजगारीमा रहेका नेपाली कामदार र स्थानिय बासिन्दालाई आईपीओ बाँडफाँड गरिसकेको छ। अब फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने तयारी भइरहेको छ।
सम्बन्धीत समाचारः
विवाद नै विवादकाबीच पाल्पा सिमेन्टको आईपीओ, के हो करोडौं कर छलीको काण्ड ?
पाल्पा सिमेन्टद्वारा सेटिङ र फर्जी कागजातको भरमा आईपीओ, सर्वसाधारणको लगानी डुबाउने खेल !
संकटमा पाल्पा सिमेन्ट, जोखिम बढ्दै गर्दा आइपीओको साहारा












