नेकपाको घोषणापत्रः लाखौँ रोजगारीदेखि आर्थिक कायापलटको प्रतिबद्धता (पूर्णपाठसहित)

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा झन् सक्रिय देखिन थालेका छन् । यसै क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको आर्थिक संरचना रूपान्तरण गर्ने दाबीका साथ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
५२ पृष्ठ लामो घोषणापत्रमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सहरी विकास, रोजगारी र उद्यमशीलताजस्ता प्रमुख क्षेत्र समेटिँदा यसको केन्द्रमा दोहोरो अंकको आर्थिक वृद्धिदर र लाखौँ रोजगारी सिर्जनाको महत्वाकांक्षी लक्ष्य राखिएको छ ।
घोषणापत्रमा कर्मचारी प्रशासन सुधार र प्रविधिमैत्री संरचनाको कुरा पनि उठाइएको छ । परम्परागत संरचनाबाट उच्च आर्थिक वृद्धि सम्भव नहुने भन्दै राज्यका काम नलाग्ने संस्थाको पुनर्संरचना र कर्मचारी संयन्त्रमा नयाँ, दक्ष र प्रविधिमा अभ्यस्त जनशक्ति भित्र्याउनुपर्ने आवश्यकता औंल्याइएको छ । यसलाई घोषणापत्रले ३० प्रतिशत नयाँ जनशक्ति भित्र्याउने प्रस्तावसँग जोडिएको छ ।
नेकपाले नेपालको अर्थतन्त्रलाई आयातमुखी उपभोग, कमजोर उत्पादनशीलता, बेरोजगारी र युवा पलायनले ग्रस्त बहुआयामिक संकटको चरणमा रहेको निष्कर्ष निकालेको छ । यसबाट मुक्ति पाउन उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशिता र आत्मनिर्भरतालाई प्राथमिकता दिने रणनीति अघि सारिएको छ । कृषि क्षेत्रमा ‘कृषि लगानी दशक’ घोषणा गर्दै दुई वर्षभित्र प्रमुख खाद्यवस्तुमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ ।
उद्यमशीलतामा युवा, महिला, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई लक्षित विशेष प्याकेज घोषणापत्रको अर्को आकर्षक पक्ष हो । स्टार्टअप र आईटी उद्यमका लागि कर छुट, इन्क्युवेसन केन्द्र र नवप्रवर्तन कोषको घोषणा गरिएको छ ।
औद्योगिक विकासमा एआई–आधारित स्मार्ट म्यानुफ्याक्चरिङको अवधारणा अघि सारिएको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिने छ।
पूर्वाधार, सहरी विकास र पर्यटनमा पनि घोषणापत्रले द्रुत विकासको सपना देखाएको छ । राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्ने, स्मार्ट सिटी र स्मार्ट भिलेज विकास गर्ने, आवास निर्माण र पर्यटन प्रवर्द्धनका लक्ष्य आकर्षक देखिएका छन् ।
nepali commusnist party ghoshana patra











