सरकारको सार्वजनिक ऋण बृद्धि: ६ महिनामै १ खर्ब ७९ अर्ब रुपैयाँ साँवा–ब्याजमा खर्च

काठमाडौँ । मुलुकको सार्वजनिक ऋण निरन्तर बढ्दै जाँदा त्यससँग जोडिएको साँवा र ब्याज भुक्तानी सरकारका लागि बढ्दो आर्थिक बोझ बन्दै गएको छ। ऋणको आकार बढेसँगै त्यसको व्यवस्थापनमा हरेक वर्ष अर्बौँ रुपैयाँ खर्चिनु परिरहेको तथ्यांकले देखाएको हो ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ खर्च भइसकेको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व व्यहोर्न बजेट विनियोजन गरेको थियो, जसमध्ये ६ महिनामै ४५ दशमलव ५३ प्रतिशत रकम खर्च भइसकेको हो।
समीक्षा अवधिमा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड रुपैयाँ गरी जम्मा १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड रुपैयाँ गरी कुल ३१ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ।
पछिल्लो एक दशकको अवधिमा सार्वजनिक ऋणको आकार झण्डै छ गुणाले बढेको देखिन्छ। एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँमा सीमित रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ पुगेको थियो। त्यसयता पनि ऋणको मात्रा घट्नेभन्दा बढ्ने क्रममै रहेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा कुल ३ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो। उक्त रकममध्ये ऋणको साँवा भुक्तानीमै २ खर्ब ९१ अर्ब १९ करोड रुपैयाँ खर्च हुँदा ब्याज भुक्तानीमा ७० अर्ब ४४ करोड रुपैयाँ गएको थियो।
विवरणअनुसार आन्तरिक ऋणतर्फ साँवा भुक्तानी २ खर्ब ४३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने वैदेशिक ऋणको साँवा भुक्तानी ४७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल ब्याज भुक्तानीमध्ये आन्तरिक ऋणको ब्याज ६० अर्ब २७ करोड र वैदेशिक ऋणको ब्याज १० अर्ब १६ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ।












