राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

५ फाल्गुन २०८२, मंगलवार १८:१४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनामा उठेको विवादलाई थाती राखेर वैकल्पिक योजना अघि बढाउन निर्देशन दिएकी छन्।

ललितपुरको खोकनामा धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने भन्दै उठेका चासोलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक सुरुवातबिन्दुमा काम अघि बढाउने आदेश दिएकी हुन्।

गत माघ १३ गते उनले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण गर्ने क्रममा पनि विकास निर्माणका काममा स्थानीय सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए। यसै सन्दर्भमा उनले भनेकी छन्, ‘सुरु विन्दु परिवर्तन भए पनि राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ।’

आजको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देल, द्रुतमार्ग आयोजना सम्बन्धित अधिकारीहरू र मन्त्रालयका सचिवहरू सहभागी थिए।

छलफलमा नेपाली सेनाबाट आयोजना प्रगति, समस्या र सरकारसँग अपेक्षा गरिएको विषयमा ब्रिफिङ दिइएको थियो। प्रधानमन्त्री कार्कीले सबै निकायका अधिकारीहरूलाई विकास निर्माणमा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर नबस्न कडा निर्देशन दिएकी छन्।

उनले भनिन्, ‘विकास निर्माणका काममा ढिलासुस्ती गर्नु हुँदैन। विवाद समाधान गर्न सकिन्छ भने गरौं, नत्र विकल्प खोजेर अघि बढौं। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी खोकना नभए अन्य उपयुक्त स्थानबाट प्रस्थानविन्दु कायम गरौं।’

प्रधानमन्त्री कार्कीको निर्देशनअनुसार अब खोकना भन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ। यस कदमले आयोजना छिटो सञ्चालनमा ल्याउने र ठूलो आर्थिक बोझ कम गर्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*