पशुपतिमा प्रहरीलाई मुक्का हान्ने युवक पक्राउ

काठमाडौं । फागुन ३ गते महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा खटिएका प्रहरीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भई हाल काठमाडौंको चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
शिवरात्रिका दिन पशुपति क्षेत्रको सुरक्षामा खटिएका एक प्रहरी कर्मचारीमाथि ति युवकले मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले मुक्का प्रहार गर्ने युवकको खोजी तीव्र पारेको थियो भने ति युवकको पहिचान गरिदिन सर्वसाधारणसँग आग्रह समेत गरेको थियो।
पहिचान खुले लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले आज बुधबार चागलबाट पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।












