जीवन बीमा अभिकर्ताले ६ महीनामा बुझे ७ अर्ब २९ करोड कमिशन, कुन कम्पनीबाट कति?

काठमाडौं । हाल नेपालमा जीवन बीमा व्यवसाय गरिरहेको १४ वटै जीवन बीमा कम्पनीमा कार्यरत हजारौं बीमा अभिकर्ताहरूले चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीबाट कमिशत बापत ७ अर्ब २९ करोड २२ लाख रुपैयाँ प्राप्त गरेका छन्।
जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि पुस मसान्तसम्म उक्त राशीको अभिकर्ता कमिशन लिएका हुन्। गत आवको सोही अवधिसम्म ६ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ कमिशन लिएकोमा त्यसको तुलनामा चालू आवमा १३.४६ प्रतिशतले अभिकर्ता कमिशनमा वृद्धि भएको देखिएको छ।
अभिकर्ता कमिशन भनेको बीमा कम्पनीले आफ्ना अभिकर्ताहरू मार्फत बिक्री गरिएका बीमा पोलिसीहरूका लागि अभिकर्तालाई दिने पारिश्रमिक हो। अभिकर्ताले कम्पनीको पोलिसी आम बीमितलाई बिक्री गरी प्रिमियम संकलन गरेर व्यवसाय भित्र्याए बापत कम्पनीले त्यस्तो प्रिमियमको निश्चित प्रतिशत अभिकर्तालाई कमिशन बापत दिन्छ यसैलाई अभिकर्ता कमिशन भनिन्छ।
कुन कम्पनीले अभिकर्ता कमिशनमा कति खर्चिए?
चालू आवको पुस मसान्तसम्म नेपाल लाइफले सर्वाधिक १ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ अभिकर्ता किमशनमा खर्च गरेको छ। नेपाल लाइफ सबैभन्दा ठूलो व्यवसाय गर्ने बीमा कम्पनी भएकाले र यसमा ठूलो संख्यामा अभिकर्ताहरू कार्यरत छन् त्यसकारण पनि कम्पनीले ठूलो मात्रामा अभिकर्ता कमिशन खर्चिने गर्छ।

त्यसैगरी नेशनल लाइफले ९५ करोड १२ लाख रुपैयाँ, एलआईसी नेपालले ७२ करोड ८३ लाख रुपैयाँ, हिमालयन लाइफले ६८ करोड ७६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४९ करोड १६ लाख रुपैयाँ, एशियन लाइफले ३९ करोड २२ लाख रुपैयाँ, सिटिजन लाइफले ३८ करोड ६ लाख रुपैयाँ, सानिमा रिलायन्सले ३६ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपालले २८ करोड ४५ लाख रुपैयाँ, आइएमई लाइफले २८ करोड ४२ लाख रुपैयाँ, मेटलाइफले २७ करोड १६ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २६ करोड ६१ लाख रुपैयाँ, सन नेपालले २० करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमाले ९ करोड ७१ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ।
वृद्धिदरको आधारमा
गत आवको पुस मसान्तसम्म अभिकर्ता कमिशनमा गरिएको खर्चसँग सोही कम्पनीले चालू आवको सोही अवधिमा अभिकर्ता कमिशनमा गरेको खर्च दाँजेर हेर्दा आइएमई लाइफले सार्वधिक २९.०५ प्रतिशतले कमिशन वृद्धि गरेको छ। त्यसपछि सिटिजन लाइफको १९.५० प्रतिशत, सानिमा रिलायन्सको १८.७९ प्रतिशत, प्रभु महालक्ष्मीको १४.६८ प्रतिशत र नेपाल लाइफको १४.६७ प्रतिशतले बढेको छ।

त्यसपछि नेशनल लाइफको १३.८५ प्रतिशत, सन नेपालको ११.३५ प्रतिशत, सूर्यज्योति लाइफको ११.२९ प्रतिशत, एशियन लाइफको ११.२४ प्रतिशत, एलआईसी नेपालको १०.९६ प्रतिशत, हिमालयन लाइफको ४.३७ प्रतिशत र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा कम २.२४ प्रतिशतले अभिकर्ता कमिशनमा वृद्धि आएको तथ्यांकले देखाएको छ।












