राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जान उपयुक्त हुँदैनः पूर्वराजा शाह

६ फाल्गुन २०८२, बुधबार १७:१९

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रको वर्तमान अवस्था र राजनीतिक दिशाबारे आफ्नो धारणा राखेका छन्। उनले सोही सन्देश मार्फत मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी चुनावमा जान उपयुक्त नहुने बताएका हुन्।

सम्बोधनमा उनले जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरण गर्दै प्रजातन्त्रको मिर्मिरे घाम उदायको दिवसका रूपमा उल्लेख गरेका छन्। शाहले देश हाल असामान्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै अस्मिता र अस्तित्व नै संकटमा परेको अनुभूति धेरै देशभक्त नेपालीले गरिरहेको बताएका छन्। विगतमा विभिन्न नाममा आन्दोलन र संघर्ष भए पनि त्यसको उपलब्धिबारे आत्मसमिक्षा गर्नुपर्ने समय आएको उनको भनाइ छ।

उनले देशको शत्रु विपन्नता र अस्थिरता हो भन्दै नेपाली–नेपालीबीच वैमनस्य बढाउने संस्कृतिले मुलुकलाई कमजोर बनानुका साथै देश आज इतिहासकै सबैभन्दा गहिरो र दर्दनाक स्थितिमा आइपुगेको धारणा राखेका छन्। वर्तमान चुनौतीका बीच परस्पर घृणा र द्वन्दको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबोधन गरौं भन्दै आह्वान समेत गरेका छन्।

प्रजातान्त्रिक अभ्यासका सन्दर्भमा उनले निर्वाचन प्रक्रियालाई स्वाभाविक माने पनि राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रिया अघि बढाउन उपयुक्त हुने बताएका छन्। राष्ट्रिय सहमति र समझदारी सहित निर्वाचनमा जानु पर्नेमा दिंदै निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखी राष्ट्रिय सहमतिमा सबैलाई समेटेर अगाडि बढ्नु आजको आवश्यकता रहेको औंल्याएका छन्।

त्यसैगरी अधिकारभन्दा कर्तव्यबोधलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले मिलेर काम गरौं भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिने बताए। नेपालको भू–बनोट र सामाजिक संरचना अनुसारको व्यवस्थाले दिगो परिणाम दिने उल्लेख गर्दै आम जनताको समग्र हित हुने तथा विश्व सामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नै नेपाललाई सुहाउने धारणा व्यक्त गरेका छन्।

उनले जुनै व्यवस्थाको पनि नराम्रो र खराब पक्षहरू हुने र यसलाई फ्याल्नुपर्नेमा जोड दिएका छन्। विश्वका विभिन्न मुलुकले आफ्नै आवश्यकता र प्राथमिकता अनुसार प्रणाली परिमार्जन गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग परिक्षण र प्रशोधन गर्नुपर्ने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*