फागुन २१ को निर्वाचनका लागि देशभर मतदाता शिक्षा अभियान तीव्र

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएका छन्। निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता बढाउन र मतदान सही ढंगले गराउन विशेष अभियान सञ्चालन भइरहेको हो।
निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्म विशेष मतदाता शिक्षा कार्यक्रम लागू गरेको छ। यस अवधिमा देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरिएका छन्। उनीहरू नमुना मतपत्र लिएर घरदैलोमै पुगेर मत हाल्ने तरीका, मतको गोपनीयता र निर्वाचनको महत्वबारे जानकारी दिइरहेका छन्।
जेनजी आन्दोलनको क्रममा सरकारी भवन र कम्प्यूटरमा क्षति पुगेको कारण चुनौती बढेको भए तापनि निर्वाचन सफल बनाउन स्थानीय तहहरू घरदैलोमा पुगिरहेका छन्। ठाउँठाउँमा मतदाता शिक्षासँगै शान्तिपूर्ण वातावरण निर्माणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
निर्वाचन आयोगले बदर हुने मत घटाउन प्रभावकारी ढंगले मतदाता शिक्षालाई जोड दिइएको बताएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच त्रिकोणात्मक समन्वय पनि गरिएको आयोगले जानकारी दिएको छ।












