चोरी भएका ५३ सवारी साधन धनीलाई फिर्ता

७ फाल्गुन २०८२, बिहीबार १६:४६

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हालसम्म सम्पादन गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा सवारी दुर्घटनाको वर्तमान अवस्था, दुर्घटनाका प्रमुख कारण, बढी जोखिममा रहेका समूह तथा न्यूनीकरणका उपायबारे अन्तरक्रिया पनि भएको छ।

सोही अवसरमा उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण गरिएका सवारी साधनमध्ये ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर रहेका छन्। कार्यालयमा प्राप्त निवेदन र सूचनाका आधारमा खोजतलास गर्दा केही सवारी साधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उक्त सवारी साधन धनीलाई हस्तान्तरण गरेका हुन्। उनका अनुसार हस्तान्तरण गरिएका ५३ वटा सवारी साधनसहित चालू आर्थिक वर्षको साउन महीनायता २९६ वटा सवारी साधन धनीलाई जिम्मा लगाइएको छ। साथै चोरीमा संलग्न २९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ वटा र २०८१/०८२ मा ५०३ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई बुझाइएको कार्यालयले जनाएको छ। सवारी साधन चोरीबाट जोगिन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरन जडान गर्ने तथा विश्वव्यापी स्थान निर्धारण प्रणाली जडान गर्न सुझाव ट्राफिक प्रहरीले दिएको छ। साथै एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*